कराते

सूर्योदय मेयरकप राष्ट्रिय कराते सुरु

इलाम । इलाममा प्रथम सूर्योदय मेयर कप राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराते खेल विकास समितिको संयोजनमा खेलको माध्यमबाट पर्यटन प्रर्वद्धनको उद्देश्यसहित प्रतियोगिता सुरु गरिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा आज (आइतबार) पहिलो चरणको खेल सम्पन्न भएका छन् । फिक्कलको कान्दुक फुटसल एरिनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ इभेन्टमा ७ वटा प्रदेशका ८० जना खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा पुरुष कुमुतेतर्फ पुरुषको ५० केजी देखि ६५ केजी माथिको ५ तौल समूहका खेलाडीहरूले सहभागिता जनाएका छन् ।

त्यसैगरी महिला तर्फ ४५ केजीदेखि ६० केजीमाथिको तौल समुहमा प्रतिस्पर्धा भएको छ । प्रतियोगिताको उद्धघाटन सूर्योदय नगर प्रमुख रणबहादुर राई गरे । प्रतियोगिता दौरान रेफ्री रिफ्रेसर तालिम समेत राखिएको छ । कार्यक्रममा कराते टिम तयारी संयोजक महेन्द्र राई, वरिष्ठ प्रशिक्षक एवम रेफ्री काउन्सिलका उपाध्यक्ष राम लामा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको फाइनल खेल सोमबार सञ्चालन हुनेछ ।  कोभिड संक्रमण सुरु भएपछि सूर्योदय क्षेत्रमा कराते प्रतियोगिता हुन सकेको थिएन् । पछिल्लो पटक २०७५ चैत्रमा श्रीअन्तुमा नेपाल, भारत, भुटान, बंगलादेश र संयुक्त अरब इमिरेट्स (युएई)को खेलाडी सम्मिलित सातौ अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिता सम्पन्न भएको थियो ।