सय मिटरको स्वर्ण पदक इटालियन खेलाडीलाई

टोेकियो, (खेलाडी)- इटालीका मार्सेल ज्याकोब्सले टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष १ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

आइतबार भएको फाइनल चरणमा ज्याकोब्सले निर्धारित दूरी ९.८० सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । ९.८४ सेकेन्डमा दूरी पूरा गरेका अमेरिकाका फ्रेड कार्लेले रजत जित्दा क्यानडाका आन्द्रे डी ग्रासले निर्धारित दूरी ९.८९ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

पुरुष १ सय मिटर दौडमा विश्‍व कीर्तिमान र ओलम्पिक कीर्तिमान दुवै जमैकाका उसेन बोल्टको नाममा छ । बोल्टले सन् २००९ अगस्ट १६ मा बर्लिनमा १ सय मिटर दौड ९.५८ सेकेन्डमा पूरा गर्दै विश्‍व कीर्तिमान रचेका थिए । सन् २०१२ को लन्डन ओलम्पिकमा बोल्टले निर्धारित दूरी ९.६३ सेकेन्डमा पूरा गर्दै ओलम्पिक कीर्तिमान रचेका थिए ।

यसअघि शनिबार भएको महिला १ सय मिटरमा भने जमैकाले क्लिन स्विप गरेको थियो । जमैकाकी इलिअनी  थोम्सन हेयराले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जित्दा जमैकाकै सेल्ली एन फ्रासर प्राइस र सेरिका ज्याक्सन क्रमशः रजत र कांस्य पदक जितेका थिए ।