सहिद स्मारक लिग कात्तिक अन्तिममा

काठमाडौं, (खेलाडी)- असोज पहिलो साताका लागि निर्धारित सहिद स्मारक ‘ए’ डिभिजन लिग झण्डै दुई महिना पछिका लागि सारिएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) मा लिग कमिटी र ‘ए’ डिभिजनका १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको छलफलमा लिग कात्तिक अन्तिमबाट गर्ने सहमति भएको थियो । क्लब र एन्फाको नयाँ सहमतिअनुसार अब लिग कात्तिक २९ गतेबाट हुने बताइएको छ । 

यसअघि एन्फाले असोज ३ गतेबाट लिग गर्ने घोषणा गरेको थियो ।  नेपालले साफ च्याम्पियनसिप आयोजनाका लागि प्रस्ताव गरेकाले लिगसँग मिति जुध्‍ने भन्दै लिग कात्तिक अन्तिमका लागि सारिएको हो ।

कोभिड १९ महामारीका कारण गत वर्ष लिग आयोजना हुन सकेको थिएन । यस पटकको लिग विजेताले नगद ७५ लाख हात पार्नेछ भने उपविजेताले नगद ५० लाख र तेस्रो स्थानको टोलीले नगद २५ लाख हात पार्नेछन् । क्लबहरूले लिगको तयारीस्वरूप नगद २० लाख प्राप्त गर्नेछन् ।

लिगको अन्तिम २ स्थानमा बस्‍ने टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । यसअघि २०७६ को लिग मच्छिन्द्र क्लबले जितेको थियो भने सरस्वती क्लब ‘बी’ डिभिजनमा घटुवा भएको थियो । यस पटक सातदोबाटो युथ क्लबले नवप्रवेशीका रूपमा ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ ।

यसअघिका संस्करणहरूजस्तै यस पटक पनि लिगमा राउन्ड रोबिन पद्दतिअनुसार सबै क्लबले एकअर्कासँग एकपटक प्रतिस्पर्धा गर्नेछन् । 

यसअघि क्लबहरू पहिलो चरणपछि शीर्ष ८ टोलीबीच सुपर ८ र बाँकी ६ क्लबबीच च्याम्पियनसिप गर्ने र त्यहाँबाट रेलिगेसनमा पर्ने दुई टोलीको टुङ्गो लगाउनेबारे सहमत भएका थिए । तर कोभिड १९ संक्रमणको त्रासका कारण क्लबहरू एकल राउन्ड रोबिन मात्र खेल्न सहमत भएका हुन् । लिगका लागि खेलाडी दर्ता प्रक्रिया भने सुरु भइसकेको छ ।