पाँच प्रश्न

मन छुने किताब पढ्नुपर्छः धाविका सन्तोषी

काठमाडौं । कसैले नभन्नु, खेलाडीले किताब पढ्दैनन् भनेर । त्यो पनि स्कुल, कलेजमा पढ्नुपर्ने किताब होइन । हामी कोर्स बाहिरका किताबको कुरा गरिरहेका छौं । हामी यस्तै कुरा गर्छौं भने किताब पढ्ने खेलाडीमध्ये सबैभन्दा अगाडि आउने नाम हो, सन्तोषी श्रेष्ठ । धाविकाको रूपमा उनी अब्बल छिन् । हाफ म्याराथन भन्ने बित्तिकै अचेल विजेता कोही हुन्छ भने तिनै सन्तोषीमात्रै हुन् । तर, हामीले अहिले उनीसँग गरेको कुराकानी भने खेललाई लिएर होइन, किताब र किताब पढ्ने बानीलाई लिएर हो । सन्तोषीसँगका पाँच प्रश्न ।

घरमा कति जति किताब होलान् ?
– घरमा सानोतिनो लाइब्रेरी नै छ भन्दा हुन्छ । सायद चार हजार जति किताब हुँदो हो । यसमध्ये अधिकांश किताब दाइ केदार श्रेष्ठले किन्नुभएको हो । उहाँकै कारण मलाई पनि पढ्ने बानी बसेको हो भन्दा हुन्छ । उहाँ कस्तो भने कसैलाई भारी बोकाएर समेत किताब किनेर आउने मान्छे । त्यसैले मैले तिनै किताब पढ्ने अवसर पाएँ ।



कहिलेदेखि किताब पढ्ने बानी बस्यो त ?
– काठमाडौं आएदेखि । त्यो भनेको दस वर्षजति भयो होला । त्यही बेला दाइले किन्नुभएका किताब घरमा धेरै हुन्थ्यो । त्यसैलाई पढ्ने गर्थें । १० वर्षदेखि म नियमित पढिरहेको छु । औपचारिक शिक्षामै जोड दिने मान्छे हुँ म । त्यसबाहेक पनि बाहिरका किताब पनि उत्तिकै पढ्नुपर्छ भन्छु म ।

तपाईं आफैं कत्तिको किताब किन्नुहुन्छ ?
–किन्छु नि । तर अचेल मैले त्यस्तो किताब किन्छु, जुन दाइले किन्नु हुन्न । त्यसैले सबैभन्दा पहिले त्यस्तो किताब किन्नुपर्छ भनेर निश्चित हुन्छु, जुन दाइले किन्नु हुन्न । दाइले नकिन्ने खालका किताब म किन्छु । मज्जा लाग्छ किताब किनेर पढ्न । आजभोलि त साहित्यिक महोत्सवमा पनि भाग लिन्छु । मलाई पनि सहभागी हुन बोलाइरहनु हुन्छ । म त्यसमा किताबबारे बहसमा भाग पनि लिन्छु ।

कस्ता किताब पढ्नुहुन्छ ? 
–यस्तै किताब भन्ने हुन्न । सुरु–सुरुमा कथाका किताब पढें । पछि उपन्यास पनि पढें । फेरि तिनै किताबहरू आजभोलि दोहो¥याएर पढ्ने गर्छु । सुरुमा पढ्दा किताबले जे भन्न खोजेको थियो, त्यो फरक हुन्थ्यो । अहिले पढ्दा फरक पाउँछु । मैले राजनीतिक सिद्धान्तका किताबसम्म पनि पढेको छु ।

तपाईंलाई मनपरेका खास केही पुस्तक ?
– यो चाहिँ निकै गाह्रो प्रश्न भयो । साहित्यिक महोत्सवमा मलाई यस्तै प्रश्न गरिएको थियो । तर, मैले उत्तर दिन सकिनँ । अहिले राम्रो लागेको पुस्तक केही समयपछि मलाई नलाग्न सक्छ । अर्कै पुस्तकले मलाई आकर्षित गर्न सक्छ । मुख्य कुरा म त्यस्तै किताब पढ्ने प्रयास गर्छु, जसले मेरो मन छुने गर्छ । पछिल्लो समय खेलाडी भएको नाताले कसैलाई प्रेरित गर्न सक्ने किताब बढी मन पराउन थालेको छु ।