सफ्ट टेनिस

सफ्ट टेनिसमा पुलिस र एपिएफलाई युगलको स्वर्ण

महिला युगलको विजेता जोडी । तस्बिर सौजन्यः दुश्यन्त थापा

पोखरा । नेपाल पुलिस क्लबका कमल भण्डारी र नउबहादुर लुंगेली तथा सशस्त्र प्रहरी बल (एपिएफ)का भगवती बिक र संवृद्धी महर्जनको जोडीले नवौं वृहत राष्ट्रिय खेलकुद सफ्ट टेनिसमा मंगलबार स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशाला परिसरको टेनिस कम्प्लेक्समा मंगलबार बिहान सम्पन्न पुरुष युगलको फाइनलमा पुलिसका कमल र नउबहादुरले प्रदेश एकका युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५-३ को नतिजामा पराजित गर्यो ।

प्रदेश एकले रजत पदक जित्दा बागमती प्रदेशका प्रदीप खत्री र वृजेश पाण्डे तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडीले कांस्य पदकमा चित्त बुझाए ।

पुरुष युगलको विजेता जोडी । तस्बिर सौजन्यः दुश्यन्त थापा

सेमिफाइनलमा कमल र नउबहादुरको जोडीले शक्ति र धर्म तथा प्रदीप र वृजेशको जोडीले युकेश र आशिषको जोडीलाई पराजित गरेका थिए ।

यसैगरी महिला युगलको फाइनलमा भगवती र संवृद्धीको जोडीले लुम्बिनी प्रदेशका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५-० को सोझो सेटमा हरायो ।

लुम्बिनीले रजत पदक जित्दा प्रदेश एकका श्रेया योन्जन र श्रेया राई तथा नेपाल पुलिसका विष्णा भण्डारी र सिषम चन्दको जोडीले कांस्य पदक हात पार्यो ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सफ्ट टेनिसमा कुल ६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । त्यसमध्ये चार स्वर्ण पदकको छिनोफानो भइसकेको छ ।

प्रतियोगितामा सोमबार पुरुष एकल र महिला एकलको पदक टुंगो लागेको थियो ।

पुरुष एकलमा प्रदेश एकका युकेश योन्जन तथा महिलामा एपिएफकी संवृद्धी महर्जनले स्वर्ण पदक जितेका थिए ।

पुरुषमा बागमतीका प्रदीप खत्रीले रजत तथा बागमतीका निर्मल स्थापित र लुम्बिनीका सुरज चौधरीले कांस्य पदक जितेका थिए ।

यसैगरी महिलामा बागमतीकी चन्द्रमाया राईले रजत तथा बागमतीकै स्वस्तिका बिष्ट र प्रदेश एककी श्रेया योन्जनले कांस्य पदक जितेका थिए । 

सफ्ट टेनिसमा अहिलेसम्मका नतिजाअनुसार एपिएफ दुई स्वर्ण पदकका साथ सबभन्दा अगाडि छ । प्रदेश एक एक स्वर्ण, एक रजत र दुई कांस्य पदकसहित दोस्रो स्थानमा रहँदा नेपाल पुलिस एक स्वर्ण र एक कांस्य पदक जितेर तेस्रो स्थानमा छ । यसैगरी बागमतीले दुई रजत र तीन कांस्य पदक जित्दा लुम्बिनीले एक रजत र एक कांस्य तथा गण्डकीले एक कांस्य पदक जितेका छन् ।