एन्डी मरे

निरन्तरतको जित यात्राले मनोबल बढ्योः मरे

लन्डन । रोत्से नटिङघम ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेसँगै एन्डी मरेले लामो समयपछि आफू लयमा फर्किएको प्रतिक्रिया दिएका छन ।

गत साता उनले सुर्बिटोन जितेका थिए । मरेले सन् २०१६ को विम्बल्डनपछि जितेको यो पहिलो उपाधि थियो । रोत्से नटिङघम ओपनको क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा मरेले फ्रान्सका ह्युगो ग्रेनरलाई ६-३,७-५ ले पराजित गरेका थिए । 

मरेले सन् २०१८ मा हिपको शल्यक्रिया गराएका थिए । त्यसयता उनी स्वभाविक लयमा फर्कन संघर्षरत थिए । उनले पछिल्लो सात खेलमा भने जित यात्रा कायम राखेका छन ।

‘म अहिले लयमा फर्किएको छु र पछिल्लो केही साता निरन्तर जित यात्रामा छु,’ मरेले भने,' सम्भवत शल्यक्रियापछि म लयमा देखिएको यो पहिलो अवसर हो । यो उच्च लयले आगामी खेलहरुमा पनि निरन्तरता पाउनेमा म आशाबादी छु ।'