अशोक खड्का

तेक्वान्दो प्रशिक्षक अशोक उत्कृष्ट निर्णायक घोषित

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक अशोक खड्का अस्ट्रियन ओपनको वर्ल्ड र्याङकिङ जि–२ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

उक्त प्रतियोगितामा ४० देशका ६४ निर्णायकहरु सहभागी थिए । जसबाट शीर्ष ६ निर्णायकलाई उत्कृष्ट घोषित गरिएको थियो ।

अस्ट्रियाको इन्सबकमा मे २८ र २९ तारिखमा भएको प्रतियोगितामा खड्काले पहिलो दिनमा ११ र दोस्रो दिनमा आठ खेल खेलाएका थिए । उनले सिनियर पुरुष ६३ केजी र महिला ७३ केजी मुनिको खेलमा निर्णायकको भूमिका निर्वाह गरेका थिए । यस्तै, उनले क्याडेटतर्फ पुरुष ३८ केजी मुनिको फाइनल पनि खेलाएका थिए ।

खड्का उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाट छनोट हुने एक्लो निर्णायक हुन् । उनले पुम्से र पारा तेक्वान्दोको पनि निर्णायक गरिसकेका छन् ।