टेबल टेनिस

६ स्वर्णसहित पुलिस टेबलटेनिस च्याम्पियन

पोखरा । नेपाल पुलिस क्लब ६ स्वर्ण पदकसहित नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेबलटेनिसमा च्याम्पियन बनेको छ । बुधबार सम्पन्न टेबलटेनिसमा पुलिसले आधा दर्जन स्वर्णसहित २ रजत र चार कास्य पदक जित्यो ।

सशस्त्र प्रहरी बलको एपिएफ क्लब १ स्वर्ण, ४ रजत र १ कास्यसहित दोस्रो बागमती प्रदेश १ रजत र २ कास्य जितेर तेस्रो भयो । त्यसबाहेक त्रिभुवन आर्मी क्लबले २ कास्य, गैह्रआवासीय नेपाली संघ (एनआरएनए)ले २ कास्य, प्रदेश १ ले २ कास्य तथा गण्डकी प्रदेशले १ कास्य पदक जिते ।

बुधबार आजै सम्पन्न महिला सिंगल्सको स्वर्ण पदक नवीता श्रेष्ठले हात पारेकी छिन् । पदक बिजेता श्रेष्ठले ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को ३–४ सेटले एलिना महर्जनलाई पराजित गरेकी हुन् ।

प्रतिष्पर्धी खेलाडी दुवै नेपाल पुलिसका खेलाडी हुन् । विजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल भइन् भने एलिनाले रजत पदक जितिन् ।

एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कास्य जिते । यसैगरी पुरुष सिंगल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण जिते ।

पुलिसका स्यान्टु श्रेष्ठले एपिएफका रुविन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को ४–१ सेटले पराजित गरेका थिए ।

श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल भए भने रुविनले रजतमा चित्त बुझाए । यसै गरी नेपाल प्रहरीका प्रदीप रोका र एपिएफका संयोग कपालीले काँस्य पदक हात पारे ।

प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशले भने पदक जित्न सकेनन् । 

समापन कार्यक्रममा राष्ट्रिय खेलुकद परिषद्का सदस्य राजेश गुरुङ, अखिल नेपाल टेबल टेनिस संघ तथा नेपाल ओलम्पकि कमिटिका उपाध्यक्ष चतुरानन्दराज वैद्य, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्य र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले पदक तथा पुरस्कार वितरण गरेका थिए ।