खो खो

खोखोको महिला-पुरुष दुवैतर्फ फाइनलमा लुम्बिनी र आर्मी

पोखरा। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम नेपाल आर्मी महिला पुरुष दुवै टिम फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको सेमिफाइनल खेलमा पुरुषतर्फ लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

पोखरा रंगशालास्थित ह्यान्डल एकेडेमीमा भएको सेमिफाइनल खेलमा लुम्बिनीले २५–१६ अंकसहित बागमती प्रदेशलाई पराजित गरेको थियो । लुम्बिनीले फाइलनमा विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ ।

सेमिफाइनलअन्तर्गत बुधबार भएको पहिलो खेलमा विभागीय टिम आर्मीले प्रदेश नं १ लाई पराजित गर्दै फाइलन यात्रा निश्चित गरेको हो । सिंगल इनिङमा सकिएको खेलमा आर्मीले १९–२ अंकसहित जित निकालेको थियो ।

महिलातर्फ पनि लुम्बिनी प्रदेश र आर्मी नै फाइनलमा पुगेका छन् । ह्यान्डबल एकेडेमीमा भएको सेमिफाइनलअन्तर्गत पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीले सुदूरपश्चिमलाई १८–२ अंकसहित सिंगल इनिङमा जित निकालेको थियो ।

त्यस्तै, महिलातर्फ नै दोस्रो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई पराजित गर्दै फाइनल पुगेको छ । फाइनल यात्राका लागि लुम्बिनीले प्रदेश १ माथि २२–२ को फराकिलो जित निकालेको हो । महिलातर्फ लुम्बिनी र आर्मी भिड्नेछन् ।

राउन्ड रोबिनआधारमा असोज ३० गतेबाट सुरु भएको खोखो खेलको पदकका लागि बिहीबार भिड्नेछन् । प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए ।