विश्व एक्वाटिक च्याम्पियनसिप

विश्व एक्वाटिक च्याम्पियनसिपमा नेपालका चार खेलाडी

काडमाडौं । जापानको फुकुओका सहरमा आयोजना हुने विश्व एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

ओलम्पिकको छनोट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीको प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा संजय शाह र छन् ।

अध्यक्ष बज्राचार्यले श्रावण ७ देखि १३ गते (जुलाई २३ देखि २९) सम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वर्ल्ड एक्वाटिक कंग्रेसमा सहभागिता जनाउने छन्।

जुलाई २३ मा नासिरले ४ सय मिटर फ्रिस्टायल तथा २४ मा गौरिकाले १ सय मिटर ब्याकस्ट्रोक र नासिरले २ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्।

जुलाई २५ मा डुवानाले २ सय  मिटर फ्रिस्टायल तथा २६ मा गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्। यस्तै २७ मा डुवानाले १ सय  मिटर फ्रिस्टायल र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्।

जापान टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का  सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा प्रदान गर्दै खेलाडीलाई उच्च स्तरको प्रदर्शनका साथ ओलम्पियकमा छनोट हुन सफलताको शुभकामना सहित बिदाइ गरे । टोली बुधबार जापान प्रस्थान गर्नेछ ।