कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता

पुलिसलाई थप पाँच स्वर्ण

 काठमाडौं । नेपाल पुलिस क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन पाँच स्वर्ण पदक थपेको छ । 

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगितामा शुक्रबार नेपाल एपिएफ क्लबले एउटा स्वर्ण पदक थप्दा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ ।

प्रतियोगिताको पहिलो दिन बिहीबार पुलिसले तीन र एपिएफ क्लबले दुई स्वर्ण पदक जितेका थिए । १७ इभेन्ट्स मध्ये १२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक आठ, एपिएफले तीन र आर्मीले एउटा स्वर्ण पदक जितेका छन् । 

प्रदेशका टोलीले भने अहिले सम्म स्वर्णको खाता खोल्न सकेका छैनन् । प्रतियोगिताको अन्तिम दिन शनिबार पाँच इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

पुरुष कुमुते ६० केजी तौल समूहमा एपिएफका मीनबहादुर तामाङले स्वर्ण, आर्मीका किर्तन महर्जनले रजत तथा लुम्बिनी प्रदेशका यामबहादुर समाल र गण्डकी प्रदेशका सक्षम लामाले कास्य पदक जितेका छन्  ।

शुक्रबार नै नेपाल पुलिस क्लबकी सोनी राई महिला कुमुते ६१ केजी तौल समूहमा स्वर्ण, एपिएफका रमिता माझीले रजत तथा आर्मीकी सानुमाया थिङ र मधेश प्रदेशकी खुस्बु खड्काले कास्य पदक प्राप्त गरे

पुलिसका सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । त्यसमा एपिएफका सुविन खत्रीले रजत तथा गण्डकी अंकित गुरुङ र राम बिसीले कास्य पदक जितेका थिए ।

महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठ स्वर्ण पदक जित्दा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्लले रजत, पुलिसकी सविना श्रेष्ठ र बागमती प्रदेशकी सोनु श्रेष्ठले कास्य पदक प्राप्त गरे ।

पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपिएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कास्य पदक प्राप्त गरेका थिए । 

पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । त्यसमा आर्मीका विभुषा थापा रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गरे ।

 पुलिसका सन्जय मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जितेका थिए । त्यसमा बागमतीका साइमन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गरे ।

पहिलो दिनको विजेता खेलाडीलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद शंकर भण्डारीले शुक्रबार पुरस्कृत गरेका थिए । 

गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव-२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता शनिबार सम्म चल्नेछ ।

हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट एक महिला र पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित एक लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली गरी १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।