नेपाली राष्ट्रिय क्रिकेट टोली

फलदायी बन्ला देशाईको यात्रा ?

काठमाडौं  । भारतका मोन्टी देशाई अहिले नेपाली क्रिकेटको ‘ड्राइभिङ सिट’ सम्हाल्न आइपुगेका छन् ।

नेपाली क्रिकेट विवादमा घेरिएका बेला, राष्ट्रिय टोलीको प्रदर्शन खस्किँदो अवस्थामा रहेका बेला अनि टिम एकता खल्बलिरहेका बेला देशाईको इन्ट्री भएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन निकै कठिन बनिसकेको बेला भएको आफ्नो आगमन कति चुनौतीपूर्ण हुनसक्छ, यसको लेखाजोखा नेपाली क्रिकेटलाई नजिकबाट बुझेको ‘ठानिएका’ देशाईले पक्कै गरेका होलान् ।

यद्यपि विश्व क्रिकेटमा उदाउँदो राष्ट्रको छवि बनाउँदै आएको नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पद भने अहिले संसारकै राम्रा मानिएका प्रशिक्षकहरूको आँखामा परिसकेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षक पदको आवेदन दिँदा विश्वका चर्चित प्रशिक्षकहरूले इच्छा देखाउनुले त्यसलाई पुष्टि गर्छ ।

यो बेला मात्र होइन, जुन बेला नेपाल एकदिवसीय मान्यता नपाएकै बेलामा एसोसिएट राष्ट्रका रूपमा धुम मच्चाइरहेको नेपाली टोली हेर्ने थुप्रैले चाह देखाएका थिए ।

नेपालले साढे दुई दशक लामो अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा तय गरिसक्दा थुप्रै प्रशिक्षकले योगदान दिइसकेका छन् । जसमा केही प्रशिक्षक थोरै समय क्रिकेटको यो सानो मुलुकमा रहे भने केहीले लामो र अविस्मरणीय योगदान दिएर फर्किए ।

नामका हिसाबले डेभ वाटमोर सबैभन्दा ठूलो नाममा गनिन्छ भने योगदानको हिसाबले पुबुदु दासानायके र रोय लुक डायसको नाम नेपाली मानसपटलमा बस्ने गर्छ ।

को कस्ले सम्हाले त नेपाली टोली ?

उनीहरू हुन् ब्रायन विगन्स, बबी सिम्पसन, अफ्ताफ बालुच, रोय लुक डायस, पुबुदु दासानायके (दुई कार्यकाल), उमेश पटवाल, डेभ वाटमोर र मनोज प्रभाकर ।

ब्रायन विगन्स

विगन्स नेपाली राष्ट्रिय टोली सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक हुन् ।

अस्ट्रेलियाका उनी सन् १९९८ मा नेपाली टोलीको प्रशिक्षक बनेर आएका थिए । विगन्सले सन् १९९८ को एसिसी ट्रफीमा नेपालको प्रशिक्षण सम्हालेका थिए ।

घरेलु मैदानमा भएको उक्त प्रतियोगितामा नेपालले चार खेल खेल्दा दुई हार नतिजा निकालेको थियो । दुई खेल भने विना नतिजा टुंगिएको थियो ।

एक वर्षको बसाइपछि उनी फर्किए ।

बबी सिम्पसन

अस्ट्रेलियाका बबी सिम्पसन सन् १९९९ मा नेपाल आएका थिए । उनको नेपाल बसाइ अवधि झन छोटो रह्यो ।

आइसिसी ‘डेभलभमेन्ट प्रोग्राम’ अन्तर्गत नेपाल आएका बबीले नेपालको यु-१९ टोलीलाई केही समय प्रशिक्षण दिए र फर्किए ।

अफ्ताफ बालुच

पाकिस्तानका अफ्ताफ बालुच सन् २००१ मा नेपालको प्रशिक्षक बनेर आएका थिए ।

बालुचको प्रशिक्षणमा नेपालले सन् २००१ को आइसिसी ट्रफी खेलेको थियो । क्यानडामा भएको उक्त प्रतियोगितामा नेपालले ५ खेल खेल्दा ४ जित र १ हारको नतिजा निकालेको थियो ।

रोय लुक डायस

श्रीलंकाका रोय लुक डायस नेपाली क्रिकेटको जग बसाउने महत्त्वपूर्ण पात्रको रूपमा रहे । सन् २००१ मा दुई वर्षको सम्झौता गरेको भए पनि उनी सन् २०१० सम्म नेपालमा बसेका थिए ।

भनिन्छ उनको एक दशक लामो प्रशिक्षणमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्पर्धामा उभिन आधारभूत बल पाएको थियो ।

डायस सबैभन्दा लामो समय नेपाली राष्ट्रिय टोली सम्हाल्ने विदेशी प्रशिक्षक हुन् ।

उनको प्रशिक्षणमा नेपाल सन् २००४ को एसिसी ट्रफीको उपविजेता बनेको थियो । नेपालको यु-१९ टोलीले उनकै प्रशिक्षणमा सन् २००६ मा आइसीसी विश्वकप प्लेट च्याम्पियनसिप जितेको थियो ।

डायसको प्रशिक्षण कालको सबैभन्दा महत्त्वपूर्ण विशेषता के रह्यो भने युवा खेलाडीहरूको प्रतिभा उनले मज्जाले उजागर गरिदिए । जसको परिणामस्वरुप नेपालले चार पटक आइसिसी यु-१९ विश्वकप खेल्यो ।

त्यस्तो सफलता फेरि दोहोरिन सकेको छैन । त्यही युवा पछि राष्ट्रिय क्रिकेट टोलीको महत्त्वपूर्ण सदस्य बनेका थिए । उनकै प्रशिक्षणमा नेपालले सन् २०१० मा आइसिसी डिभिजन ५ को उपाधि जितेको थियो ।

पुबुदु दासानायके

यसमा कुनै शंका छैन, श्रीलंकाली मूलका क्यानडेली प्रशिक्षक पुबुदु दासानायके नेपालका एक अब्बल प्रशिक्षक हुन् । उनैले नेपाली खेलाडीहरूको दिमागमा ‘विनिङ मेन्टालिटी’ भरिदिएका थिए ।

फलस्वरुप नेपालले हालसम्मकै सवैभन्दा ठूलो उपलब्धिका रूपमा सन् २०१४ को आइसिसी ट्वान्टी-२० विश्वकप खेल्यो ।

उनी विसं २०६८ भदौ ६ गते पहिलो कार्यकालका लागि नेपाल आएका थिए । सुरुमा ६ महिनाको सम्झौता भएको भए पनि दासानायकेले २०७२ सालसम्म नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपालले सन् २०१३ मा आइसिसी डिभिजन ३ को उपाधि जितेको थियो  ।

उमेश पटवाल

छिमेकी मुलुक भारतका प्रशिक्षक हुँदा नेपाली क्रिकेटले भारतबाट थुप्रै कुरा पाउन सक्छ भन्ने आशाअनुरुप पहिलो पटक उमेश पटवालको रूपमा नेपालले भारतीय प्रशिक्षक पाएको थियो ।

पटवाल २०७६ जेठ १८ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

उनको प्रशिक्षणमा नेपालले सिंगापुरमा ट्वान्टी-२० विश्वकप छनोट र त्रिकोणात्मक ट्वान्टी-२० शृंखला, ओमानमा चार देशसम्मिलिन ट्वान्टी-२० शृंखला तथा घरेलु मैदानमा १३ औं दक्षिण एसियाली खेलकुद र आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखला खेलेको थियो ।

पटवालको प्रशिक्षणमा नेपालले १२ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दा ५ जित, ६ हार निकाल्दा एक खेल विना नतिजा टुंगिएको थियो ।

यसैगरी सागमा चार खेल्दा समान २ जित र २ हारको नतिजासहित कांस्य पदक हात पारेको थियो ।

उनको प्रशिक्षणमा नेपालले चार एकदिवसीय खेल खेल्दा समान २ जित र २ हारको नतिजा निकालेको थियो ।

उनको कार्यकालमा नेपाली क्रिकेटले कुनै कायापलट गर्न सकेको देखिएन । मात्र ८ महिना टोली हेरेपछि उनले कार्यकाल पूरा नगर्दै २०७६ माघ २० मा राजीनामा दिएका थिए ।

डेभ वाटमोर

डेभ वाटमोर नेपालले पाएको अहिलेसम्मकै हाइप्रोफाइल प्रशिक्षक हुन् ।

श्रीलंकालाई सन् १९९६ को विश्वकप जिताएका प्रशिक्षक नेपाल आँउदा क्रिकेटप्रेमीले ठूलो आशा र अपेक्षा राखेका थिए ।

अस्ट्रेलियाका ६८ वर्षीय यी प्रशिक्षक २०७७ पुस ३ मा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

उनको नेपाल आगमन यस्तो बेलामा भयो, जतिबेला नेपाल क्रिकेट संघ चरम विवादमा फसेको थियो । भनिन्छ वाटमोरले आफ्नो योजना मैदानमा उतार्न कठिन वातावरणको सामना गर्नुपर्यो ।  

उनको प्रशिक्षणमा नेपालले धेरै प्रतियोगिता खेल्न पाएन । यद्यपि जति खेल्यो, त्यसमा राष्ट्रिय टोलीले राम्रो नतिजा निकाल्न सक्यो ।
५ ट्वान्टी-२० र ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा दुवैमा समान ४ जित निकाल्यो ।

घरेलु मैदानमा त्रिदेशीय ट्वान्टी-२० शृंखला र ओमानमा पपुवा न्युगिनीसँग एकदिवसिय शृंखला तथा आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलेको थियो । 

२०७८ भदौ १२ मा उनले प्रशिक्षक पदबाट राजीनामा दिएर फर्केका थिए ।

पुबुदु दासानायके

पुवुदु दासानायके २०७८ मंसिर २५ मा दोस्रोपटक नेपाली टोलीको प्रशिक्षकका रूपमा नियुक्त भए । तर उनको दोस्रो कार्यकाल पहिलो जस्तो हुन सकेन ।

स्पष्ट रूपमा भन्नुपर्दा उनको दोस्रो इनिङ्समा उनी नेपाल क्रिकेट संघ, खेलाडी विवाद र कप्तान नियुक्तिको कोपभाजनमा मुछिन पुगेका थिए ।

आगमनसँगै दासानायकेले क्रिकेट मैदानभित्र कम मैदानबाहिर वढी खेल खेल्नुपर्ने अवस्था बन्यो ।

खेलाडी वरीयताको विवादमा अड्को थापिरहेका ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट हटाएर सन्दीप लामिछानेलाई कप्तान बनाउने क्यानको उत्कट चाहनामा दासानायके निमित्त पात्र बन्न पुगे ।

उनको प्रशिक्षणमा नेपालले ओमानमा चार देशसम्मिलित ट्वान्टी-२० शृंखला र ट्वान्टी-२० विश्वकप छनोट, युएई, अमेरिका र स्कटल्यान्डमा आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला, घरेलु मैदानमा ट्वान्टी-२० र एकदिवसीय शृंखला खेलेको थियो ।

नेपाललले दासानायकेको प्रशिक्षणमा १२ एकदिवसीय खेल खेल्दा ७ हार, ४ जित र एक बराबरीको नतिजा निकाल्यो । यसैगरी ११ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दा ९ जित र २ हारको नतिजा आत्मसात गरेको थियो ।  

यसैगरी दासानायकेको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा जिम्बावेको ‘ए’ टोलीसँग समान तीन खेलको ट्वान्टी-२० र एकदिवसीय शृंखला खेल्यो ।

ट्वान्टी-२० शृंखला १-१ को बराबरीमा सकिँदा एकदिवसीय शृंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको थियो ।

खेलाडीहरूबीच बढेको दूरी मेटाउँदै राष्ट्रिय टोली बलियो बनाउने उनको लक्ष्य थियो । जुन क्रिकेटमा कचमचिएको विवादको कारण उनले सम्भव देखेनन् । र, दसानायकेले २०७९ साउन ४ मा राजीनामा दिए ।

मनोज प्रभाकर

भारतका मनोज प्रभाकार नेपालले पाएका अप्रभावकारी प्रशिक्षक मानिन्छन् ।

२०७९ साउन २३ मा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका उनी चार महिनामात्र नेपालमा रहे ।    

प्रभाकरको प्रशिक्षणमा नेपालले केन्यामा ट्वान्टी-२० शृंखला, घरेलु मैदानमा एकदिवसीय शृंखला तथा नामिबियामा आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखला खेलेको थियो । उनको प्रशिक्षणमा नेपालले सात एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्यो ।

प्रभाकरको प्रशिक्षणमा नेपालले एकदिवसीयमा दुई जित, चार हारको नतिजा निकाल्दा एक खेल वर्षाका कारण प्रभावित भएर विना नतिजा टुंगिएको थियो । नेपालले ट्वान्टी-२० तीन जित र दुई हारको नतिजा निकाल्यो ।

यसैगरी नेपालले प्रभाकरको प्रशिक्षणमा केन्यासँग तीन खेलको एकदिवसीय अभ्यास शृंखला पनि खेलेको थियो । जसमा नेपालले तीनै खेल जित्दै क्लिन स्विप गरेको थियो ।

क्यानले प्रभाकरसँग एकवर्षे सम्झौता गरेको थियो । तर प्रभाकरको प्रशिक्षण प्रभावकारी हुन नसकेको भन्दै क्यान पदाधिकारीले दबाब दिएपछि उनले सम्झौता नसकिँदै मंसिर २९ मा पदत्याग गरेका थिए ।

मोन्टी देशाई

नेपाल क्रिकेट संघ (क्यान) ले यही माघ २३ गते देशाईलाई औपचारिक रूपमा मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

नेपालले सन् १९९६ को एसिसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको थियो । २६ वर्षे इतिहासमा देशाई नेपाली टोलीको प्रशिक्षण सम्हाल्ने नवौं विदेशी प्रशिक्षक हुन् ।

धेरै पटक नेपालको प्रशिक्षकमा नाम सुनेका देशाईसँग क्यानले दुई वर्षको सम्झौता गरेको छ ।

यसअघि नेपालको ब्याटिङ परामर्शदाताको रूपमा काम गरिसकेका देशाईको नेपालसँग सफलताको मिठो संयोग छ ।

सन् २०१७ मा नेपालको यु-१९ टोलीले भारतलाई पराजित गर्यो, जुन नेपालले कुनै पनि स्तरको क्रिकेटमा भारतलाई पराजित गरेको पहिलो अवसर थियो । त्यतिबेलाका नेपालका ब्याटिङ परामर्शदाता हुन् देशाई ।

त्यसैले देशाईलाई नेपाली क्रिकेटबारे नजिकबाट जानकार भएकाले योजना बुन्न सहज पात्रको रूपमा हेरिएको छ ।

यद्यपि उनको ‘ड्राइभिङ सिट’ पनि चुनौतीले भरिपूर्ण नै देखिन्छ ।

नेपाल ट्वान्टी-२० को आयोजनाका कारण विवाद, आलोचना र सम्भावित कारबाहीको सूचीमा रहेको क्यान, नावालिग बलात्कारको आरोप खेपिरहेका सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गर्दा देखिएको विरोध, त्यसले टिममा पर्न सक्ने प्रभावको बीचमा उनले आफ्नो क्षमता प्रस्तुत गर्नुपर्नेछ ।

मुख्य चुनौती त निकै कठिन मोडमा पुगिसकेको नेपालको एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु नै हो ।