काठमाडौं । मौरिटानियाविरुद्ध ४-० को सहज जित निकाल्दै सेनेगेल आगामी वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।
जितसँगै १० खेलमा २४ अंक जोडेको सेनेगल समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो ।
सेनगेल चौथो पटक विश्वकपमा पुगेको हो । यसअघि टोलीले सन् २००२, २०१८ र २०२२ को विश्वकप खेलेको थियो ।
अब्दुलाये वाडे रंगशालामा घरेलु टोली सेनेगललाई जित दिलाउन साडियो मानेले दुई तथा इलिमान एनदियाये र हबिब डियालोले समान एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा मानेको गोलमार्फत सेनेगलले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै माने नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
एनदियायेले ६४औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा डियालोले गोल गर्दा सेनेगल ४० ले विजयी भयो ।
यसैगरी अफ्रिकन छनोटबाट दक्षिण अप्रिका र आइभोरी कोस्टले पनि विश्वकपका यात्रा तय गरेका छन् । दक्षिण अफ्रिका समूह ‘सी’ तथा आइभोरी कोस्ट समूह ‘एफ’ को शीर्ष स्थानमा रहे ।
यससँगै विश्वकपकामा छनोट हुने राष्ट्रको संख्या २६ पुगेको छ ।
यसअघि युरोपबाट इङ्ल्यान्ड, अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया र घाना, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।
४८ टोलीको सहभागिता रहने फिफा विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।