भाद्र १३, २०८२ शनिबार | ०४:०८:५७
अयोग्य दशरथ रंगशाला कि फुटबल नेतृत्व ? उचाइ छुने महिला युनाइटेडलाई धक्का दिएको ग्रिम्सबीको कहानी महिला फ्रेन्चाइज भलिबल लिग: ब्राजिल इटालीसहित आइपुगे ११ देशका खेलाडी आत्मकथा शृंखला-१४ 'ढाका रेडियोलाई दिएको अन्तर्वार्ता' पुरुषमा पारस र क्रिकेटको प्रभुत्व भारतलाई साफ यु-१७ महिला च्याम्पियनसिपकाे उपाधि राखेप अवार्डः खो-खो टोली उत्कृष्ट संकटाको विजयी यात्रा जारी भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, कृतिशा र पूर्णिमालाई पहिलो पटक मौका अयोग्य दशरथ रंगशाला कि फुटबल नेतृत्व ? उचाइ छुने महिला युनाइटेडलाई धक्का दिएको ग्रिम्सबीको कहानी महिला फ्रेन्चाइज भलिबल लिग: ब्राजिल इटालीसहित आइपुगे ११ देशका खेलाडी आत्मकथा शृंखला-१४ 'ढाका रेडियोलाई दिएको अन्तर्वार्ता' पुरुषमा पारस र क्रिकेटको प्रभुत्व भारतलाई साफ यु-१७ महिला च्याम्पियनसिपकाे उपाधि राखेप अवार्डः खो-खो टोली उत्कृष्ट संकटाको विजयी यात्रा जारी भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, कृतिशा र पूर्णिमालाई पहिलो पटक मौका
शनिबारको दिन काउन्टर अट्याक

अयोग्य दशरथ रंगशाला कि फुटबल नेतृत्व ?

काठमाडौं । दशरथ रंगशाला नेपाली फुटबलको घर हो । काठमाडौंको मुटु त्रिपुरेश्वरमा रहेको यो ठाउँ फुटबलको मात्र नभई समग्र नेपाली खेलकुदकै घर हो । यही कारण हो, यसलाई दशरथ रंगशाला नभनी रंगशाला मात्र भनिन्छ । रंगशालामात्र भनेर पुकारियो भने खेलाडी, खेलकर्मी र खेलप्रेमीले सोझै बुझ्ने भनेकै दशरथ रंगशाला हो ।

नेपाली खेलकुदका लागि दशरथ रंगशाला भनेको फुटबलका लागि बेलायतको वेम्बली, क्रिकेटका लागि लर्डस अनि एथलेटिक्सका लागि ओलम्पिक स्टेडियम भनेजस्तै हो । खेलकर्मीका लागि यो एउटा पवित्र मन्दिर हो । हिन्दु धर्मावम्बीका लागि पशुपतिनाथ र इस्लाम धर्मावम्बीका लागि मक्का भनेजस्तै हो नेपालका खेलाडी, खेलकर्मी र खेलप्रेमीका लागि दशरथ रंगशाला । तर नेपाली खेलकुदको मन्दिर अहिले स्वाभाविक अवस्थामा छैन । खेलकर्मीको आस्थालाई सम्बोधन गर्न सक्ने हालतमा दशरथ रंगशाला छैन ।

हो, रंगशाला अहिले बिमार छ । कोमामा छ । उसो त दशरथ रंगशालाले सबैखाले खेललाई प्रशिक्षण र प्रतिस्पर्धाका लागि सेवा प्रदान गर्छ । खेलप्रेमीलाई रोमाञ्चक प्रतिस्पर्धाका लागि न्यानो आतिथ्यता दिने गर्छ । तथापि दशरथ रंगशालाको मुख्य आकर्षण भनेको फुटबल नै थियो/हो पनि ।

आफ्ना स्वार्थका लागि संख्याको खेलमा दिनरात लाग्न सक्ने एन्फा नेतृत्वसँग असमर्थ बनाइएको रंगशालालाई पुनः ठूला खेल आयोजनाको तयारीमा लाग्ने फुर्सत नै देखिन्न ।

फुटबलले नै दशरथ रंगशालामा २०औं हजार खेलप्रेमीको भीड निम्त्याउने गर्थ्यो । त्रिपुरेश्वरमात्र नभई पूरा सहरलाई नै उत्सवमय बनाउने गर्थ्यो । तर, अब रंगशाला त्यसका लागि असमर्थ भइसकेको छ । इमान्दार भएर भन्ने हो भने रंगशालालाई ठूला खेलका लागि जानिजानी असमर्थ बनाइएको छ ।

हिलाम्मे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै चर्च ब्वाइज युनाइटेड र पारो एफसी । 

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ, राष्ट्रिय खेलकुद परिषद अनि युवा तथा खेलकुद मन्त्रालयबीच अघिल्लो वर्ष एउटा यस्तो दुर्लभ सहकार्य भयो, जसले दशकौंदेखि ठूला अन्तर्राष्ट्रिय खेलमा दिँदै आएको सेवाका लागि दशरथ रंगशाला असमर्थ घोषित गरियो । लाखौं फुटबलप्रेमीको आस्थामाथि स्वार्थको निर्मम प्रहार भयो । भनियो, ‘नेपाली फुटबलको घर अब खेलाडीको ओत बन्न लायक छैन । निम्नकोटीकै भए पनि फुटबलको भावनाभन्दा हाम्रा स्वार्थ महान छन् । फुटबलप्रेमीको आस्था र हाम्रा स्वार्थ बाँझेपछि रंगशालाले नेपालको खेल गराउन पाउने छैन ।’

यसो भन्दा एन्फामाथि निकै अनुदार भएको वा आरोप लगाएको प्रत्यारोप लाग्न सक्छ । तर दुःखका साथ भन्नुपर्दा वास्तविकता यही हो । आफ्ना स्वार्थका लागि संख्याको खेलमा दिनरात लाग्न सक्ने एन्फा नेतृत्वसँग असमर्थ बनाइएको रंगशालालाई पुनः ठूला खेल आयोजनाको तयारीमा लाग्ने फुर्सत नै देखिन्न । रंगशालाले अन्तर्राष्ट्रिय खेल आयोजनाको हैसियत गुमाउने प्रसङ्गदेखि अहिलेसम्मका घटनाक्रमले त्यही भन्छ ।

दशरथ रंगशालामा नेपाली पुरुष राष्ट्रिय टिमले सन् २०२३ नोभेम्बर १७ यता खेल्न पाएको छैन । 

सुरुमा मैदानको सतह र घाँसमाथि दोष दिएर घरेलु खेल बहराइन लगेर मतदाता जन्तीको भिसा लगाएर जहाज चढाएको एन्फाले केही महिनापछि सुरक्षाको बहाना बनायो । राष्ट्रिय खेलकुद परिषदले मैदानको अवस्था ठिकठाक पारेपछि एन्फासँग बहाना थिएन । त्यसपछि नेपाली फुटबललाई दीर्घकालीन दुष्प्रभाव पर्ने भए पनि रंगशालालाई ‘असुरक्षित’ घोषणा गरियो । तर त्यसयता दुई वर्ष बित्न लागिसक्दा पनि ‘असुरक्षित रंगशाला’ सुरक्षित बनाउन कुनै ठोस प्रयास भएको छैन । प्रत्येक आधिकारिक खेल दौरान मतदाताको जन्तीलाई विदेश भ्रमण गराउन पाएपछि किन चाहियो दशरथ रंगशाला ?

एन्फाले तयार गरेको आधारमा प्रत्येक दिन इँटा थप्दै गरेको एसियाली फुटबल महासंघ (एएफसी)ले जारी गरेको पछिल्लो उर्दीले त्यही भनेको छ । ‘विगतमा जस्तासुकै खेल आयोजना गरे पनि अब दशरथ रंगशालाले अन्तर्राष्ट्रिय खेल गर्न पाउने छैन । खेल गराउन रंगशाला जसरी योग्य छैन । त्यसै गरी काठमाडौंका मैदानहरू अभ्यास गर्न पनि लायक छैनन् ।’

 दशरथ रंगशालामामा उपस्थित दर्शक ।

एएफसीले यसो भन्नु नाजायज मान्न सकिन्न । किनकि एसियाली फुटबलको नियमनकारी निकायले पटकपटक रंगशाला र अभ्यास मैदानहरूको अवस्था सुधार्न दिएका सुझाव एन्फाले अटेर गरेपछि यथास्थितिमा एउटा महादेशीय संस्थाले आफ्नै अडानविपरीत अन्तर्राष्ट्रिय खेल आयोजनाको अनुमति दिनु पनि कसरी ?

तालिकाअनुसार नेपालले अक्टोबर १४ मा भियतनाम तथा नोभेम्बर १८ मा मलेसियालाई दशरथ रंगशालामा आतिथ्यता दिनुपर्ने थियो ।

वर्षौदेखि दिएका सुझाव बेवास्था गरेको जनाउँदै एएफसीले सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कप छनोटअन्तर्गत भियतनाम र मलेसियाविरुद्धका खेल काठमाडौंमा गर्ने अनुमति दिन नसकिने बताएको छ । एन्फाका महासचिव किरण राईलाई पत्र लेख्दै एएफसीका सहमहासचिव सिन मान गिलले नेपालमा खेल हुन नसक्ने जनाउँदै घरेलु खेलका लागि अर्को कुनै तटस्थ मैदान प्रस्ताव गर्न सुझाएका छन् ।

दशरथ रंगशालामा नेपाली पुरुष राष्ट्रिय टिमले सन् २०२३ नोभेम्बर १७ यता खेल्न पाएको छैन । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत यमनविरुद्धको उक्त खेलपछि एन्फाको आन्तरिक राजनीतिका कारण दशरथ रंगशालालाई कृत्रिम रूपमा असुरक्षित प्रस्तुत गरिँदा नेपाल फिफा र एएफसीको आधिकारिक अन्तर्राष्ट्रिय खेल आयोजनाबाट वञ्चित हुँदै आएको छ ।

संख्याको खेलमा लिप्त एन्फा पिरामिडभित्रका अधिकारीहरूको विदेश मोहसामु फुटबलका मूल्य मान्यता गौण साबित हुनाको परिणामस्वरुप नेपालले दुई वर्षदेखि आफ्ना सबै घरेलु खेलहरू विपक्षीको मैदान वा तटस्थ भूमिमा खेल्नुपरेको छ । जसका कारण राष्ट्रिय टिम घरेलु मैदान र समर्थकको फाइदाबाट वञ्चित भइरहेको छ । नतिजा पनि सोहीअनुसार प्रत्यक्ष रूपमा प्रभावित भइरहेको छ ।

एएफसीको पत्रमा रंगशाला खेल गराउन योग्य नरहेको र प्रस्तावित च्यासल र नेपाली सेनाको मैदान अभ्यासका लागि ‘असम्भव’ रहेको प्रस्ट छ । 

नेपाल र यमन प्रतिस्पर्धा गर्दै, यो पछिल्लो पटक नेपाली पुरुष टोलीले घरेलु मैदानमा खेलेको अन्तर्राष्ट्रिय खेल हो । 

तालिकाअनुसार नेपालले अक्टोबर १४ मा भियतनाम तथा नोभेम्बर १८ मा मलेसियालाई दशरथ रंगशालामा आतिथ्यता दिनुपर्ने थियो । तर दुई वर्षसम्म पनि एएफसीका सुझाव बेवास्था गरेको फलस्वरुप यी दुई खेलमा पनि नेपालले तटस्थ वा विपक्षीकै मैदानमा पसिना बगाउनुपर्ने भयो । जहाँ घरेलु मैदान जत्तिको नतिजा पक्कै सम्भव हुने छैन ।

एएफसीले एन्फा महासचिवलाई लेखेको पत्रमा प्रस्टसँग भनेको छ, ‘हामीले पटकपटक सुझाउनाका बावजुद रंगशालामा सुधारका कुनै प्रयास नगरिएको देख्दा हामी निरास छौं । रंगशालामा फ्लडलाइटको अवस्था ठिक नभएको, मैदान कामचलाउ मात्र भए पनि पानी हाल्ने र निकासको व्यवस्था दयनीय छ । विगतमा पटक–पटक सचेत गराइए पनि खेलाडी, टिम अधिकारी, खेल अधिकारी, भिआइपी, भिभिआइपी, मिडियालगायतका सरोकारवाला छिर्ने र निस्कने मुख्यद्वार अझै एउटैमात्र छ । जसले सुरक्षा खतरा यथावत राखेको छ । प्यारापिटका सिटहरूमा कुनै मार्किङ छैन ।’

एएफसीको पत्रमा रंगशाला खेल गराउन योग्य नरहेको र प्रस्तावित च्यासल र नेपाली सेनाको मैदान अभ्यासका लागि ‘असम्भव’ रहेको प्रस्ट छ । यही अगस्टको सुरुआतमा रंगशाला तथा अभ्यास मैदानको निरीक्षण गर्न आएको प्रतिनिधिमण्डलको प्रतिवेदनका आधारमा एएफसी सहमहासचिवले नेपाली फुटबलप्रेमीका लागि अप्रिय तर सायद एन्फा पदाधिकारीले चाहेजस्तै पत्र लेखेका थिए ।

यही भदौ २१ र २४ गते नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल यही रंगशालाले आयोजना गर्नेछ ।

अन्तर्राष्ट्रिय खेलका लागि रंगशाला योग्य भए-नभएको जाँच्न यसअघि २०२४ को अगस्ट यसै वर्षको जनवरीमा पनि एएफसीको टोली काठमाडौं आएको थियो । प्रत्येक पटक एएफसीले उही समस्या देखाएर सुधार अनुरोध गर्नाका बावजुद अझैसम्म पनि अवस्था यथावत रहेकामा गिलले चरम निराशा व्यक्त गरेको बताइन्छ । गत जनवरीमा पत्र लेखेरै यी सब विषयमा सुधार गर्न गरेको अनुरोध गरे पनि एन्फाबाट कुनै सम्बोधन नभएको एएफसीको भनाइ छ ।

एन्फा अध्यक्ष पंकजव्रिकम नेम्वाङ ।

फिफा र एएफसीका आधिकारिक प्रतियोगिताका खेलहरू दशरथ रंगशालामा गर्न बर्जित भए पनि फिफा विन्डोअन्तर्गतका खेल र महिलाको आधिकारिक खेल गर्न दिइनुले भने एएफसीकै पनि द्वैधचरित्र मात्र देखाउँछ । फिफा र एएफसीका आधिकारिक पुरुष प्रतियोगिताका लागि दशरथ रंगशाला असुरक्षित छ भने अन्य खेलका लागि कसरी सुरक्षित हुनसक्छ ? यही भदौ २१ र २४ गते नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल यही रंगशालाले आयोजना गर्नेछ । ‘असुरक्षित’ रंगशालामा खेल गराउँदा केही घटना भइहाले त्यसको जिम्मेवारी कस्ले लिने ? एन्फासँग जवाफदेहिता अपेक्षित छैन । यहाँ एकेडेमीमै राखिएका ६ जना कलिला किशोरलाई बाढीले बगाउँदा त कुनै जवाफ दिन जरुरी ठानिँदैन । तर, यी प्रश्नको जवाफ समयक्रममा एएफसीले चाहिँ दिनैपर्नेछ ।

सामाजिक सञ्जालमा चर्को स्वर गर्दै आफ्ना विदेशमोहका लागि फुटबलको दोहन गर्न पाउनुपर्ने भाष्य स्थापित गर्न जबरजस्ती गरिरहेका ‘फुटबल प्रशासक’हरू जवाफमा थुप्रै कुतर्कका साथ फेरि पनि प्रस्तुत हुने नै छन् । उनीहरूले फुटबलको जरा उखाल्दै गर्दा पूरा देश फुटबलमय भएको र आफूहरूले जरा गाडिरहेको भ्रम छर्न सामाजिक सञ्जालका भित्ता रंगाउने क्रमलाई निरन्तरता दिइरहने छन् ।

सच्चिएर कम्तीमा आगामी दिनमा घरेलु खेल ‘नेपाली फुटबलकै घर’मा हुने वातावरण बनाउनतिर लागे एन्फा नेतृत्वले गद्दाफीको जस्तो हालत भोग्नुपर्ने छैन ।

तर, पुटिन शैलीमा विपक्षी स्वरहरूलाई ग्रासरुटबाटै निमिट्यान्न पार्न स्पष्टीकरण र कारबाहीको शृंखला चलाउनमै तल्लीन नेतृत्वको भ्रमको खेती कसैले पत्याउने छैन । अरब स्प्रिङअघिसम्म कर्णल गद्दाफी लिबियाका ‘सर्वस्वीकार्य नेतृत्व’ थिए । उनको शासनकालमा लिबियामा पुटिनकालको रुसजस्तै विपक्षी स्वर बर्जित थियो । केही पाउने लोभ र कारबाहीको त्रासका कारण गद्दाफीको लोकप्रियता उत्कर्षमा देखिन्थ्यो । तर गुम्सिँदै गएको असन्तुष्टिले सिमाना नाघेपछि लुक्ने आश्रयसमेत पाएनन् ।

पुटिनका रणनीतिबाट प्रभावित जस्तो देखिने नेपाली फुटबल नेतृत्वले गद्दाफीको नियति भोग्नु नपरोस । त्यसका लागि विपक्षीका जरा ग्रासरुटबाटै उखेले पनि फुटबलको जरा झन गहिरो गरी गाड्न सके कम्तीमा फुटबलप्रेमीको साथ नेतृत्वले पाउनेछ । तर फुटबलकै जरा उखेल्न खोजिएका विषय क्षमायोग्य हुने छैनन् । समय अझै छ, सच्चिएर कम्तीमा आगामी दिनमा घरेलु खेल ‘नेपाली फुटबलकै घर’मा हुने वातावरण बनाउनतिर लागे एन्फा नेतृत्वले गद्दाफीको जस्तो हालत भोग्नुपर्ने छैन ।