काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपमा दक्षिण अफ्रिका अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।
आइतबार सम्पन्न सुपर ८ को अन्तिम खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिका अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको हो । जिम्बावेले दिएको १५४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ दशमलब ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रिकाको जितमा डेवाल्ड ब्रेभिसले १८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४२ रन बनाए । रायन रिकल्टन २२ बलमा ३१ रनमा आउट हुँदा जर्ज लिन्डा र ट्रिस्टन स्टब्स क्रमशः ३० र २१ रनमा अविजित रहे ।
जिम्बावेका लागि कप्तान सिकन्दर राजाले ३ तथा ब्लेसिङ मुजरवानी र ब्राड इभान्सले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो । जिम्बावेका लागि कप्तान सिकन्दर राजाले ४३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ७३ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि केव्रिन बोस र केन्वा मफाकाले समान २ तथा एनरिक नोर्किया, लुगिं एन्गेडि र जर्ज लिन्डाले समान १ विकेट लिए ।
दक्षिण अफ्रिका अपराजित रुपमा फाइनल पुग्ने एक मात्र टोली हो । दक्षिण अफ्रिका रहेको समूह १ बाट उसले मात्र हालसम्म सेमिफाइनलमा स्थान बनाएकोमा दोस्रो खेलमा भारत र वेस्ट इण्डिजको विजेता अर्को टोलीका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ । सुपर ८ को समूह २ बाट इङ्ल्याण्ड र न्युजिल्याण्डले फाइनलमा स्थान बनाइसकेका छन् ।
