काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपाल र भियतनामबीचको खेल खराब मौसमका कारण ३० मिनेट पर धकेलिएको छ ।
हो चि मिन्ह सहरस्थित थोङ निह्याट रंगशालामा नेपाल र भियतनामबीचको दोस्रो लेग नेपाली समयअनुुसार साँझ ६ः१५ बजे हुने तालिका थियो ।
दोस्रो लेगमा अञ्जन विष्टले पहिलो रोजाईमा मोका पाएका छन् । पाँच दिनअघि सम्पन्न पहिलो लेगमा अञ्जन बेन्चमा सीमित थिए । अञ्जनले अघिल्लो खेलमा रातो कार्ड खाएका लाकेन लिम्बूलाई प्रतिस्थापन गरेका हुन् ।
मुख्य प्रशिक्षक रसले यसबाहेक पुरानै खेलाडीलाई निरन्तरता दिएका छन् । पहिलो लेगमा मिडफिल्डर रोहन कार्कीले लामो समयपछि पहिलो रोजाईमा खेलेका थिए । दोस्रो लेगमा पनि रसले रोहनलाई विश्वास गरेका छन् ।
४–४–२ फर्मेशनमा उत्रिरहेको नेपालका लागि गोलपोस्टको जिम्मेवारीमा कप्तान किरणकुमार लिम्बू छन् । राइटमा सनीस श्रेष्ठ र लेफ्टब्याकमा एरिक विष्ट छन् । सेन्टरब्याकमा अनन्त तामाङलाई सुमन श्रेष्ठको साथ रहनेछ । मिडफिल्डमा रोहनलाई शतकीय खेल खेलिरहेका रोहित चन्दले साथ दिनेछन् । दायाँ साइडबाट मनिष डाँगी र बाँया साइडबाट आयुष घलानले टोलीको आक्रमण बुन्नेछन् ।
अञ्जनको स्ट्राइकिङ पार्टनरमा जिलेश्पीजंग कार्की छन् ।