काठमाडौं । बेल्जियमले फिफा विश्वकप युरोपियन छनोटमा आफ्नो विजयी यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ ।
सोमबार बेल्जियमले कार्डिफ सिटी रंगशालामा घरेलु टोली वेल्सविरुद्ध ४-२ को जित दर्ता गर्यो ।
जितसँगै ६ खेलमा १४ अंक जोडेको बेल्जियम समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित वेल्स समान खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ ।
बेल्जियमलाई जित दिलाउन केभिन डी ब्रुएनाले दुई तथा थोमस मुनिएर र लियान्द्रो ट्रोसार्डले समान एक गोल गरे । वेल्सका लागि जो रोडन र नाथन बोर्डहेडले गोल गरे ।
खेलको आठौं मिनेटमा रोडनको गोलमार्फत वेल्सले अग्रता लिएको थियो । १० मिनेटपछि नै डी ब्रुएनाले पेनाल्टीमार्फत बेल्जियमलाई बराबरीमा ल्याए ।
मुनिएरले २४औं मिनेटमा गोल गर्दा बेल्जियम २१ ले अगाडि बढ्यो । डी ब्रुएनाले पेनाल्टीमार्फ नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।
बोर्डहेडले ८९औं मिनेटमा गोल गर्दै वेल्सलाई फर्काउने संकेत दिएका थिए । तर एक मिनेपछि नै ट्रोसार्डले गोल गर्र्दै बेल्जियमलाई ४-२ को जित दिलाए ।
सोमबारै सम्पन्न अन्य खेलमा स्लोभाकियाले लक्जमबर्गलाई २-०, युक्रेनले अजरबैजानलाई २१ तथा जर्मनीले नर्थ आयरल्यान्ड र कोसोभोले स्विडेनलाई समान १-० ले पराजित गरे । यसैगरी नर्थ म्यासेडोनियाले काजकिस्तानसँग १-१, स्लोभेनियाले स्विट्जरल्यान्डसँग गोलरहित तथा आइसल्यान्डले फ्रान्ससँग २-२ को बराबरी खेले ।