काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले आगामी मंसिर १ गतेबाट हुने सिजन दुईका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।
काठमाडौं गुर्खाजबाट नाम परिवर्तन गरेर पूरा उपत्यकालाई प्रतिनिधित्व गर्नेगरि काठमाडौं गोर्खाज बनेको टोलीले त्यही भावनाअनुरुप नयाँ जर्सी सार्वजनिक गरेको जनाएको छ । उपत्यकाको भावनाको सम्मानका लागि जर्सी परिवर्तन गरेको टिमद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
जर्सीसँगै काठमाडौं उपत्यकाका तीनवटै सहर काठमाडौं, ललितपुर र भक्तपुरको प्रतिनिधित्व हुने गरि टिमको लोगो पनि परिवर्तन गरिएको छ । नयाँ जर्सीले खासगरि काठमाडौं उपत्यकाको एकता र गौरवलाई संकेत गर्ने बताइएको छ ।
काठमाडौं गोर्खाजले जनाएअनुसार नयाँ लोगोमा प्रयोग गरिएका रंगहरुले आशा, महत्वाकांक्षा र एकतालाई संकेत गर्छन । यसैगरी उपत्यकाको समावेशी भावना, सांस्कृतिक सम्बन्ध र उद्देश्य तथा शक्ति र साहसलाई पनि बोक्ने प्रयास गरिएको छ । जसले समग्रमा टिमले बोकेको ‘जितका लागि संगठित प्रयास’को भावनालाई प्रतिनिधित्व गर्नेछ ।
‘काठमाडौं गोर्खाजको परिचय र जर्सीले नयाँ रुपमात्र नभई नयाँ भावनालाई प्रतिनिधित्व गरेको छ । यसले सम्पदाको संरक्षण र सम्बर्धनमा प्रतिबद्धता जाहेर गरेको छ । यसले हामी को हौं र हाम्रो विश्वासलाई प्रस्तुत गरेको छ । उपत्यकाको सम्पदा, एकता र गौरवलाई गहिरोसँग प्रस्तुत गर्ने प्रयास गरेका छौं,’ टिमका व्यवस्थापकलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।