काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा कतारका कप्तान मिर्जा मोहम्मद बैगले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुँदैछ ।
कतारविरुद्ध मुख्य प्रशिक्षक स्टुअर्ट लले ब्याटिङ अलराउन्डर मोहम्मद आदिल अलामलाई मौका दिएका छन् । पछिल्ला तीन खेलमा बेन्चमा सीमित रहेका आदिलले स्पिनर ललित राजवंशीलाई प्रतिस्थापन गरेका हुन् ।
नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो । त्यसपछि सुपर सिक्सको दोस्रो खेलमा नेपालले आइतबार संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध एक रनको रोमाञ्चक जित हासिल गर्यो ।
कतारमाथि जित हासिल गरे नेपालले अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछ ।
नेपाली टोली
आशिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सनकुमार झा, सोमपाल कामी, नन्दन यादव, मोहम्मद आदिल अलाम र सन्दीप लामिछाने