काठमाडौं । नेरदल्यान्ड्सले फिफा विश्वकप युरोपियन छनोटमा आफ्नो अपराजित यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ ।
आइतबार जोहान क्रुइफ एरिनामा घरेलु टोली नेदरल्यान्ड्सले फिनल्यान्डविरुद्ध ४-० को एकतर्फी जित दर्ता गर्यो ।
जितसँगै ६ खेलमा १६ अंक जोडेको नेदरल्यान्ड्स समूह ‘जी’ को शीर्ष स्थानमा छ । पराजित फिनल्यान्डस सात खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ ।
नेदरल्यान्ड्सलाई जित दिलाउन डोनिएल मालेन, कप्तान भर्गिल भान डाइक, मेम्फिस डिपे र कोडी गाक्पोले गोल गरे ।
खेलको आठौं मिनेटमा मालेनको गोलमार्फत नेदरल्यान्ड्सले अग्रता लिएको थियो । उनले डिपेको पासलाई सदुपयोग गरेका थिए ।
त्यसको ९ मिनेटपछि नै भान डाइकले टोलीको अग्रता दोब्बर बनाए । यस पटक पनि डिपेले गोलको अवसर सिर्जना गरेका थिए ।
डिपेले ३८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा नेदरल्यान्ड्स ३-० ले अगाडि बढ्यो । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा गाक्पोले टोलीका लागि चौथो गोल गरे । उनले जाभी सिमोन्सको पासलाई पोस्टको दिशा दिए ।
आइतबारै सम्पन्न अन्य खेलमा पोल्यान्डले लिथुनियालाई २-०, क्रोएसियाले जिब्राल्टरलाई ३-०, साइप्रसले सान मारिनोलाई ४-०, स्कटल्यान्डले बेलारुसलाई २-१, डेनमार्कले ग्रिसलाई ३-१ तथा रोमानियाले अस्ट्रियालाई १-० ले पराजित गरे ।