काठमाडौं । दीपेन्द्रसिंह ऐरिले अन्तिम ओभरमा कसिलो बलिङ गरेपछि नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध एक रनको रोमाञ्चक जित हासिल गरेको छ ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सम्पन्न सुपर सिक्सको दोस्रो खेलमा नेपालले हारको मुखबाट युएईसँग दुई अंक खोसेको हो ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै मात्र १३९ रन बनाउन सक्यो । अन्तिम ओभरमा युएईलाई जितका लागि १० रनको आवश्यकता थियो । तीन बलमा सात रन जोडेको युएईले अन्तिम तीन बलमा तीन विकेट गुमाएपछि नेपालको जित सम्भव भएको हो । चौथो बलमा ध्रुव पाराशर सन्दीप जोराबाट लङ अनमा क्याच भए । त्यसपछि हेदर अली जोराबाट नै रनआउट भए ।
अन्तिम बलमा युएईलाई तीन रनको आवश्यकता थियो । क्रिजमा थिए, जुनेद सिद्धिकी र जाहीद अली । स्ट्राइकमा रहेका सिद्धिकी दुई रनका लागि दौडिएका थिए । तर, रोहित पौडेलको थ्रोमा विकेटकिपर आसिफले उनका स्ट्राइक पार्टनर जाहीदलाई रनआउट गरिदिए ।
जितसँगै नेपाल स्पष्ट चार अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिँदै विश्वकपको नजिक पुगेको छ । दुई अंकका साथ युएई तेस्रो स्थानमा छ ।
दीपेन्द्रले अन्तिम ओभर फ्याक्नुअघि दुई खेलाडीलाई पेभिलियनको बाटो देखाएका थिए । यसबाहेक सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो ।
युएईका लागि तेस्रो नम्बरका ब्याटर अलिशन शराफुको अर्धशतकीय पारी जितका लागि पर्याप्त बन्न सकेन । उनले ४० बलमा तीन चौका र पाँच छक्कासहित युएईलाई जितको बाटो दोहोर्याएका थिए । त्यस्तै मध्यक्रमका ब्याटर ध्रुव पाराशरले ३२ रन बनाउँदा ओपनर जोनाथन फिगीले १९ रन जोडे । अन्तिम बलमा रनआउट भएका जाहीदले ११ रन बनाए ।
दोस्रो ओभरको पाँचौं बलमा सोमपालले मुहम्मद वासीमको विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । वासीम भुर्तेलबाट क्याच भएका थिए । त्यसपछि आएका अलिशनले फिगीसँग मिलेर ५७ रनको साझेदारी गरे । १२औं ओभरको दोस्रो बलमा दीपेन्द्रको बलमा आसिफबाट स्टम्प आउट भए । जतिबेला युएईले स्कोरबोर्डमा ८३ रन जोडेको थियो ।
पाँच रन जोडिन नपाउँदै दीपेन्द्रले अलिशनलाई बोल्ड गरे । १५औं ओभरको पहिलो बलमा पाँचौं नम्बरका ब्याटर हर्षित कौशिक गुल्सनको शिकार बने । उनी नन्दनबाट क्याच आउट भए । त्यसपछि १६औं ओभरमा नेपालले थप दुई खेलाडीलाई पेभिलियनको बाटो देखाएपछि खेलमा फर्किने संकेत देखायो । दोस्रो बलमा विकेटकिपर ब्याटर राहुल चोप्रालाई दीपेन्द्रले रनाउट गरे । लगत्तैको बलमा सातौं नम्बरका वसील अहमद सन्दीपबाट बोल्ड भएका थिए । त्यसपछिका तीन ओभरमा नेपालले विकेट लिन सकेन ।
त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले २० ओरको समाप्तिमा ६ विकेट गुमाउँदै १४० रनको योगफल खडा गरेको थियो । अन्तिम चार ओभरमा युएईको कसिलो बलिङ गर्दा नेपालका मध्यक्रमका ब्याटर चल्न सकेनन् । यो नै नेपालले लक्ष्यअनुरुपको योगफल तयार गर्न नसक्नुको प्रमुख कारण थियो । अन्तिम चार ओभरमा नेपालले ९.२५ को रनरेटमा मात्र ३७ रन जोडेको थियो ।
ओपनिङ जोडी कुशल भुर्तेलसँग ४७ रनको साझेदारी गरेका आसिफले ४७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५१ रनको योगदान गरे । भुर्तेलले २६ बलमा समान दुई चौका र छक्कासहित २८ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले २० रनमा पेभिलियन फर्किँदा मध्यक्रमका ब्याटर गुल्सन झाले दुई चौका र एक छक्कासहित १४ रन जोडे । यसैगरी तेस्रो नम्बरमा आएका कुशल मल्लले १० रनमा आउट भए ।
युएईका लागि ६ खेलाडीः जुनेद सिद्धिकी, मुहम्मद रोहिद खान, जाहीद अली, हैदर अली, हर्षित कौशिक र ध्रुव पराशरले समान एक विकेट आफ्नो नाममा लेखाए ।
नेपालले आठौं ओभरको अन्तिम बलमा पहिलो विकेट गुमायो । भुर्तेल हर्षित कौशिकको पहिलो ओभरमा एलबिडब्लुको शिकार बने । त्यसपछि क्रिजमा आएका रोहितले आसिफसँग मिलेर ३९ रनको साझेदारी गरे । १५औं ओभरको दोस्रो बलमा युएईले रोहितको विकेट हासिल गर्यो । मुहम्मद रोहिदको बलमा रोहित ‘लङ अन’मा वैकल्पिक खेलाडी मुहम्मद फरूकबाट क्याच भए । जतिबेला नेपालले ‘स्कोरबोर्ड’मा ९५ रन जोडेको थियो ।
आठ रन जोडिन नपाउँदै आसिफको विकेटमा युएई खुसी भयो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १५ सय रनको आँकडा पूरा गरेका आसिफ ध्रुव पराशरबाट बोल्ड भएका थिए । यसबीच १६औं ओभरको तेस्रो बलमा नेपालले एक सय रनको आँकडा पूरा गर्यो । आसिफ पेभिलियन फर्किएसँगै क्रिजमा आएका दीपेन्द्रसिंह ऐरि एक रनमा आउट भए । दीपेन्द्र हैदरको बलमा ‘लङ अन’मा मुहम्मद वसीमबाट क्याच भए । अब क्रिजमा थिए पछिल्लो खेलका ‘प्लेयर अफ दि म्याच’ गुल्सन झा र आक्रमक ब्याटर कुशल मल्ल ।
गुल्सनको ब्याटिङ लयले निरन्तरता पाउन सकेन । तीन बललाई बाउन्ड्री पार लगाएका गुल्सनलाई जुनेद सिद्धिकीले आफ्नो शिकार बनाए । उनी फरूकबाट क्याच भए । १९औं ओभरको दोस्रो बलमा कुशल जहीद अलीको शिकार बने । उनी विकेटकिपर राहुल चोप्राबाट क्याच भए ।
सुपर सिक्सको पहिलो खेलमा जापानमाथि ५ विकेटको विजयी हासिल गरेको नेपालले तेस्रो खेलमा सोमबार कतारको सामना गर्नेछ ।