काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे हुँदैछ ।
सुपर सिक्सको पहिलो खेलमा नेपालले जापानसँग खेलेको थियो । जापानविरुद्ध पहिलो रोजाईमा उत्रिएका खेलाडीलाई नै युएईविरुद्ध मुख्य प्रशिक्षक स्टुअर्ट लले निरन्तरता दिएका छन् ।
नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो ।
दुई अंकका साथ सुपर सिक्समा रहेको नेपाल युएईलाई हराउँदै विश्वकपमा पुग्ने सम्भावनालाई अझ बलियो बनाउने लक्ष्यमा हुनेछ ।
ट्वान्टी-२० अन्तर्राष्ट्रियमा हालसम्म नेपाल र युएई १० पटक आमने-सामने भएका छन् । दुबैले समान पाँच खेल आफ्नो पक्षमा पारेका छन् ।