काठमाडौं । नेपाल प्रहरी महिला श्रीमती संघले आइतबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ ।
उनलाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको हो । एरिका नेपाल प्रहरीबाटै घरेलु प्रतियोगिता खेल्ने गर्छिन् ।
विश्व काराते महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालाम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
शुक्रबार एरिकाले कुमिते ६८ केजीमाथिको स्पर्धामा ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी हुन् । सेमिफाइनलमा हाकोभालाई ७-० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २-० ले निराश पारेकी थिइन् ।
कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन् ।