काठमाडौं । एन्फा राष्ट्रिय लिगमा उपाधिको दाबेदार चर्च ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लबसँग २–० को अप्रत्याशित हार बेहोरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको अन्तिम खेलमा फ्रेन्ड्सलाई लगातार दोस्रो र समग्रमा तेस्रो जित दिलाउन मसाया तहरा र मौसम सुब्बाले गोल गरे । दुबै गोल पहिलो हाफमा सम्भव भएका थिए । जितसँगै फ्रेन्ड्स १० खेलमा १२ अंक जोड्दै अंकतालिकाको ११औं स्थानमा उक्लिएको छ ।
चर्च ब्वाइजको यो दोस्रो हार हो । समान खेलमा चर्च ब्वाइज २२ अंक जोड्दै चौथो स्थानमा छ । आज जितेको भए चर्च ब्वाइज २५ अंकका साथ शीर्ष स्थानमा उक्लिने थियो ।
आइतबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले पनि शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । पुछारबाट तेस्रो स्थानमा रहेको चित्लाङ एफसीले उपाधिको दाबेदार एपिएफलाई गोलरहित बराबरीमा रोक्यो ।

बराबरीसँगै ११औं खेल सकिँदा एपिएफ २५ अंकका साथ दोस्रो स्थानमा यथावत रह्यो । समान अंकका बावजुद मछिन्द्र गोल भिन्नतामा अगाडि छ । यद्यपि मछिन्द्रले एक खेल कम खेलेको छ । यो नतिजासँगै चित्लाङले १२ खेलमा ८ अंक जोडेको छ ।
आइतबार बिहान सातदोबाटोमै भएको दिनको पहिलो खेलमा जावलाखेलले काँक्रे बिहारलाई ४–१ ले हरायो । जितसँगै १०औं स्थानमा रहेको जावलाखेलले १० खेलमा १३ अंक जोडेको छ । समान खेलमा काँक्रे बिहारको मात्र १ अंक छ ।
खेलमा काँक्रे बिहारले सुरुआती अग्रता लिएको थियो । दीपेन्द्र चुनाराले छैटौं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जावलाखेलका लागि बौबाकर सिसोखोले १६औं मिनेटमा बराबरी गोल फर्काए ।
दोस्रो हाफमा निकोलस ह्यामिल्टनले दुई तथा विकास दर्लामी मगरले एक गोल गरे ।
