काठमाडौं । राजधानीमा भइरहेको प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको बागमती प्रदेश छनोट प्रतियोगितामा नुवाकोट जिल्लाले पहिलो जित हात पारेको छ ।
छैठौं खेलमा पहिलो जित हासिल गर्ने क्रममा नुवाकोटले त्रिभुवन विश्वविद्यालयलाई डकवर्थ लुइस पद्दतीमा ७ विकेटले पराजित गर्यो । पहिलो जित निकालेको नुवाकोट २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
नुवाकोटको जितमा ओपनर योगेश भाटले ५२ तथा अनुभव खनालले ६० रन बनाए । बलिङ तर्फ भन सन्जीत तिवारीले ४ विकेट लिए । लगातार पाँचौ खेलमा पराजित त्रिवि अंक बिहिन रुपमा तालिकाको पुछारमा छ ।
आजै भएको अर्को खेलमा मकवानपुर जिल्लालाई पराजित गरेर चितवनले फाइनल सम्भावना कायमै राखेको छ ।
प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागीता छ । सहभागी टोलीबीच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल हुनेछ । लिग चरणको समाप्ती पछि शीर्ष २ मा रहने टोलीका बीच आगामी चैत ३ मा फाइनल खेल हुनेछ ।
टियु क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मुलपानीमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।
