काठमाडौं । इङ्लिस प्रिमियर लिगमा नर्थ लण्डन क्लब टोटनहम हटस्पर्शको स्थिति नाजुक छ । टोली रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको छ ।
टोटनहम हाल २९ खेलमा २९ अंक जोड्दै अंकतालिकाको पुछारबाट पाँचौं स्थानमा छ । पुछारबाट तेस्रो स्थानमा रहेको नटिङ्घम फोरेस्टको २८ अंक छ । अनि चौथो स्थानको वेस्ट ह्याम युनाइटेडको २९ अंक । वेस्ट ह्याम गोल भिन्नतामा टोटनहमभन्दा पछाडि रहेको हो ।
रेलिगेसन ब्याटल जस्तै च्याम्पियन्स लिगमा पुग्न पनि दौड धूप छ । शीर्ष दुई स्थानमा आर्सनल र म्यानचेस्टर सिटी छन् । तेस्रो र चौथो स्थानका लागि गज्जबको ब्याटल छ । म्यानचेस्टर युनाइटेड र एस्टन भिल्ला ५१ अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । उनीहरुलाई ४८ अंकका साथ चेल्सी र लिभरपुलले पछ्याइरहेका छन् ।
आइतबार लिगमा चार खेल हुँदैछन् । यसमध्ये सबैभन्दा ढिलो हुुने लिभरपुल र टोटनहमबीचको खेल हेर्नलायक हुने अनुमान गर्न सकिन्छ । लिभरपुलले टोटनहमसँग हार बेहारे युनाइटेड र भिल्लामध्ये एक टोलीले ६ अंकको अग्रता लिन सक्छ । उता टोटनहमलाई रेलिगेसनको खतरा छ । यो खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ ।
आजै दिनको पहिलो खेलमा युनाइटेड र भिल्लाबीच पनि प्रतिस्पर्धा हुनेछ । बहुप्रतिक्षित यो खेल राति ७ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई बलियो बनाउन दुबैलाई जित अत्यावश्यक छ ।
अन्य खेलमा क्रिस्टल प्यालेस र लिड्स तथा नटिङ्घम र फुलह्यामबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि राति ७ः४५ बजे हुनेछ ।
