काठमाडौं । भ्रमणकारी टोली बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा बायर लेभरकुसेनसँग हार टारेको छ । शनिबार राति भ्रमणकारी टोली बायर्न १–० ले पछि परेको स्थितिमा गोल गर्दै अंक जोगाउन सफल भएको थियो ।
खेलमा बायर्नका दुई खेलाडीले रातो कार्ड समेत सामना गरे । बायरको ३० हजार समर्थकमाझ निकोलास ज्याक्सन र लुइस डिआजले रातो कार्ड सामना गरेका थिए ।
म्युनिखको दुई तथा लेभरकुसेनको एक गोललाई भिडिओ सहायक रेफ्री (भिएआर)ले मान्यता नदिँदा खेल निकै रोमाञ्चक हुन पुगेको थियो ।
खेलपछि पनि बायर्नले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ । २६ खेलबाट ६७ अंक जोड्दै बायर्न उपाधि दौडमा रहेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको मात्र ५८ अंक छ । बायर लेभरकुसेनको २६ खेलबाट ४५ अंक छ । बराबरीपछि टोली तेस्रो स्थानमा उक्लने अवसर गुमाउन पुग्यो ।
खेलको छैटौं मिनेटमै एलेक्स गार्सियाले लेभरकुसेनलाई अग्रता दिलाएका थिए । ६८औं मिनेटसम्म गोल फर्काउन नसक्दा बायर्न म्युनिख दबाबमा आयो । यतिबेलासम्म बायर्न १० खेलाडीमा सिमित भइसकेको छ ।
६९औं मिनेटमा लुइस डिआजले नै गोल गर्दै हार टारेका हुन् । डिआज नै ८४औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिनु परेको थियो ।
