काठमाडौं । एन्फा राष्ट्रिय लिगमा पुछारबाट दोस्रो स्थानमा रहेको काँक्रे बिहारविरुद्ध जावलाखेल युवा क्लबले सानदार जित हासिल गरेको छ ।
आइतबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दिनको पहिलो खेलमा जावलाखेलले काँक्रे बिहारलाई ४–१ ले हरायो । जितसँगै १०औं स्थानमा रहेको जावलाखेलले १० खेलमा १३ अंक जोडेको छ । समान खेलमा काँक्रे बिहारको मात्र १ अंक छ ।
खेलमा काँक्रे बिहारले सुरुआती अग्रता लिएको थियो । दीपेन्द्र चुनाराले छैटौं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जावलाखेलका लागि बौबाकर सिसोखोले १६औं मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो हाफमा निकोलस ह्यामिल्टनले दुई तथा विकास दर्लामी मगरले एक गोल गरे ।
सातदोबाटोमै दिनको दोस्रो खेलमा एपिएफ एफसी र चित्लाङ एफसी प्रतिस्पर्धा गरिरहेका छन् । दशरथ रंगशालामा साँझ ६ बजे हुने दिनको तेस्रो खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज युनाइटेड आमने–सामने हुनेछन् ।
