काठमाडौं । मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा कतारविरुद्ध लक्ष्यअनुरुपको योगफल खडा गर्न सकेन । तर, सन्दीप लामिछानेको सानदार बलिङप्रेरित नेपालले अर्को रोमाञ्चक जित हासिल गर्यो ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा कतारले नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउन सकेन । १३औं ओभरको समाप्तिमा कतारले दुई विकेटको क्षतिमा १०५ रन जोडेको थियो । सात ओभरमा कतारलाई जितका लागि ६.१४ प्रति ओभर रन आवश्यक रहँदा नेपालको जित कल्पना बाहिरको कुरा थियो । तर, नेपालले जितको मुखमा रहेको कतारसँग पाँच रनको जित हासिल गर्दै दुई अंक खोस्यो ।
अन्तिम ओभरमा आठ विकेट गुमाइसकेको कतारलाई जितका लागि १० रनको आवश्यकता थियो । कप्तान रोहित पौडेलले तीन खेलाडीलाई पेभिलियनको बाटो देखाइसकेका सन्दीपलाई बलिङको जिम्मेवारी दिए । सुरुआती दुई बल ‘डट’ फ्याकेका सन्दीपले तेस्रो बलमा आमिर फरुकलाई स्टम्प आउट गरिदिए । त्यसपछिका दुई बलमा कतारले दुई रन जोड्यो । अब अन्तिम बलमा कतारलाई सात रन आवश्यक रह्यो । स्ट्राइकमा थिए, मुजीब उर रेहमान । मुजीबलाई छक्काबाहेकको विकल्प थिएन । तर, सन्दीपको वाइड बलमा मुजीब आसिफ सेखबाट स्टम्प आउट भए ।
सन्दीपले १०औं ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए । ५६ रनको अर्धशतकीय पारी खेलेका ओपनर इमाल लियानेजलाई सन्दीपले बोल्ड गरिदिए । लियानेजले जुबेर अलीसँग मिलेर पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरे । त्यसपछि क्रिजमा आएका मुहम्मद असीम १० रन बनाउन नपाउँदै पेभिलियन फर्किए । १२औं ओभरको अन्तिम बलमा उनी सन्दीपबाट एलबिडब्लुको शिकार बने ।
नेपालका लागि १४औं ओभर फलदायी सावित भयो । नन्दन यादवको त्यो दोस्रो ओभर थियो । सुरुआती दुई बलमै दुई खेलाडी पेभिलियन फर्किए । पहिलो बलमा मीर्जा मोहम्मद बेग दीपेन्द्रसिंहबाट रनआउट भए । दोस्रो बलमा मुहम्मद तनवीर पनि रनआउटकै शिकार बने । यसपाली मुहम्मद आदील अलामले नेपाललाई खुसी दिएका थिए ।
सन्दीपले १६औं ओभरको अन्तिम बलमा मध्यक्रमका ब्याटर शाहजेब जामीललाई बोल्ड गर्दै तेस्रो सफलता हासिल गरे । जतिबेला कतारले १२२ रन बनाइसकेको थियो । १७औं ओभरको दोस्रो बलमा नन्दनले शरिक मुनिरलाई एलबिडब्लुको शिकार बनाए । अर्को ओभरको पाँचौं बलमा दीपेन्द्रले ड्यानियल आर्चरलाई बोल्ड गरिदिए । यसबीच ओपनर जुबेर अलीले अर्धशतक बनाए ।
नन्दनले १९औं ओभरको पहिलो बलमा जुबेरको विकेट लिएसँगै नेपाली समर्थकमाझ अर्को रोमाञ्चक जितको आशा पलाएको थियो । त्यो ओभरमा नन्दनले तीन ‘वाइड’ फ्याक्दै १० रन खर्चिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहितको अर्धशतकप्रेरित २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १४७ रन जोडेको थियो । रोहितले ५८ रनको पारी खेले ।
रोहितबाहेक दीपेन्द्रसिंह ऐरिले २६ रनको योगदान गरे । त्यस्तै अन्तिम तीन ओभर बाँकी रहँदा क्रिजमा आएका गुल्सन झाले दुई छक्कासहित १६ रन बनाए । त्यस्तै १०औं नम्बरमा आएका सोमपालले १४ रन बनाए ।
कतारका लागि मिर्जा मोहम्मद बेइग र ड्यानियल आर्चर मारिया लुइसले समान तीन विकेट लिए । त्यस्तै मुहम्मद असीम लियाकत अली र ओवाइस अहमदको नाममा एक विकेट रह्यो ।
नेपालले स्कोरबोर्डमा १४ रन हुँदा पहिलो विकेट गुमाएको थियो । तेस्रो ओभरको चौथो बलमा भुर्तेल बेइगको शिकार भएका थिए । भुर्तेल विकेटकिपर इमाल लियानेजबाट क्याच भएका थिए । पाँचौं ओभरको पहिलो बलमा भुर्तेलका ओपनिङ जोडी आसिफ शेख पनि लियानेजबाटै क्याच भए । यसपाली पनि कतारलाई बेइगले नै सफलता दिलाए ।
आठौं ओभरको चौथो बलमा कुशल मल्ल ओवाइस अहमदको शिकार बने । कुशलको पेभिलियन फर्किएसँगै क्रिजमा आएका दीपेन्द्रसिंह ऐरिले रोहितसँग मिलेर ६२ रनको अर्धशतकीय साझेदारी गरे । यसबीच रोहितले ३५ बलमा ६ चौका र एक छक्कासहित आफ्नो ८औं ट्वान्टी–२० अर्धशतक पूरा गरे । १५औं ओभरको अन्तिम बलमा ड्यानियल लुइसले दीपेन्द्रको विकेट लिँदै कतारलाई ‘ब्रेक थ्रु’ दिलाए । दीपेन्द्र जुबेर अलीबाट क्याच भए ।
कतारले १७औं ओभरमा थप दुई सफलता हासिल गरेपछि खेलको ‘मोमेन्टम’ बदलिएको थियो । ड्यानियल आर्चरले मोहम्मद आदिल अलाम र रोहितलाई पेभिलियनको बाटो देखाए । ललित राजवंशीलाई प्रतिस्थापन गर्दै पहिलो पटक छनोटमा मौका पाएका आलमले ६ बलमा दुई रन मात्र बनाउन सके । उनी आर्चरबाटै क्याच भए । रोहितलाई भने आर्चरले बोल्ड गरेका थिए । अर्को ओभरमा सन्दीप जोरा मुहम्मद असीम अलीबाट बोल्ड भए ।
गुल्सनले १९औं ओभरमा दुई छक्का प्रहार गरे । चौथो बलमा उनी मिर्जा बेइगबाट बोल्ड भए । अन्तिम बलमा सोमपाल बेइगबाटै रनआउट भएका थिए ।
जितसँगै नेपाल अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको नजिक पुगेको छ । नेपाल स्पष्ट ६ अंकका साथ हाल अंकतलिकाको दोस्रो स्थानमा छ । बुधबार शीर्ष स्थानको ओमानलाई हराए नेपालले विश्वकपमा सथान बनाउनेछ । नेपालले सुपर सिक्सको पहिलो खेलमा जापानलाई पाँच विकेटले हराएको थियो । मंगलबार दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) नेपालसँग एक रनले स्तब्ध बनेको थियो ।