पुलिसलाई तीन तथा एपिएफलाई दुई स्वर्ण

काठमाडौं ।  दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको पहिलो दिन बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले तीन तथा एपिएफ क्लबले दुई स्वर्ण पदक  जितेका छन् ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा भएको प्रतियोगिता अन्तर्गत महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जितिन् । यो स्पर्धामा कर्णालीकी एलिशा रोसिका मगरले रजत तथा बागमतकी मिरा खाती र प्रदेश १ की रोश्मा राईले कास्य पदक जिते ।

त्यसैगरी चन्चला सम्मलित पुलिसको टोलीले टिम कातामा पनि स्वर्ण पदक जितेको थियो । महिला टिम कातामा आर्मीले रजत तथा एपिएफ र बागमतीले रजत पदक जित्यो ।  

कुमुतेतर्फ पुलिसकी पुष्पका लामाले ४५ केजी तौल समूहमा स्वर्ण पदक जितिन् । पुष्पकाले फाइनलमा त्रिभुवन आर्मी क्लबकी ममता महर्जनलाई ४-१ ले हराइन् । एपिएफकी दीपा लामा र प्रदेश १ की प्रतिममा राईले कास्य पदक जिते ।

त्यस्तै पुरुषतर्फ एपिएफका सोनिम मानन्धरले पुरुष एकल कातामा र उनी सम्मलित टोलीले टिम कातामा स्वर्ण पदक जित्यो ।  एकल कातामा पुलिसका महसुस मोक्तानले रजत तथा बागमती रेहान जाभेद र आर्मीका विजय लिम्बुले कास्य पदक जिते ।

पुरुष टिम कातामा पुलिसले रजत तथा आर्मी र प्रदशे १ ले कास्य जिते ।

गोदावारी नगरपालिकाको आयोजनामा भइरहेको कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गरिरहेको राष्ट्रिय कराते प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । 

माघ २८ गतेसम्म हुने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ ।