ट्वान्टी २० शृंखला

नेपाललाई अन्तिम खेल जित्न १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको अन्तिम खेलमा नेपालले १७३ रनको लक्ष्य पाएको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको इन्डिजले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै १७२ रन जोडेको हो ।

इन्डिजका लागि एलिक अथानेजले २९ बलमा एक छक्का र तीन चौक्काको मद्धतमा सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै कप्तान रोस्टन चेजले २३ बलमा पाँच चौक्का प्रहार गर्दै ३३ रन जोडे । त्यस्तै ओपनर जोन्सन चाल्र्सले २० बलमा समान दुई चौका र छक्का प्रहार गर्दै २० रन बनाए ।

मध्यक्रमका ब्याटर म्याथ्यु फोर्डेले २३ रन जोड्दा ओपनर कदीप एलिन र तेस्रो नम्बरमा आएका मार्क डिएलले समान ११ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान तीन विकेट लिँदा अभिनास बोहराको नाममा एक विकेट रह्यो । ३९ रन खर्चेका दीपेन्द्र सिंह ऐरि सबैभन्दा महंगा बलर बने ।

कप्तान रोहित पौडेलको दर्शनीय क्याचमा नेपालले दोस्रो ओभरको चौंथो बलमा पहिलो विकेट लिएको थियो ।

सागरको ओभरमा अघिल्ला दुई बलमा क्रमशः छक्का र चौका प्रहार गरेका कदीम एलिन चौंथो बलमा ११ रन बनाएर पेभिलियन फर्किएका थिए ।

त्यसपछि दोस्रो विकेट पछ्याएको नेपाललाई दुईपटक भाग्यले साथ दिएन । सोमपालले पाँचौं ओभरमा डिएललाई दुई पटक बोल्ड गरेका थिए । तर, बलले मान्यता नपाउँदा मार्कले जीवनदान पाए ।

दोस्रो बलमा सोमपालले मार्कलाई पहिलो पटक बोल्ड गरेका थिए । तर, उक्त बललाई अम्पायरले नो बल दिए । त्यसलगत्तै सोमपालले वाइड बल फालेका थिए । त्यसको अर्को बलमा सोमपालले पुनः मार्कलाई बोल्ड गरे । जसले फेरि एकपटक मान्यता पाएन ।

आठौं ओभरमा नेपालले दोस्रो र तेस्रो  सफलता हासिल गर्यो । सागरले पहिलो र तेस्रो बलमा व्यक्तिगत दोस्रो र तेस्रो विकेट लिए ।

पहिलो बलमा ओपनर चाल्र्सलाई कट एण्ड बोल्ड गरेका सागरले तेस्रो बलमा मार्कलाई आउट गरे । छक्का प्रहार गर्ने क्रममा मार्क कप्तान रोहित पौडेलबाट क्याच भए ।

नेपालले चौंथो सफलताका रुपमा कप्तान चेजको विकेट प्राप्त गरेको थियो । १४औं ओभरको तेस्रो बलमा अभिनाशले चेजलाई सन्दीप जोराबाट क्याच गराए ।

१७ औं ओभरको तेस्रो बलमा फोर्डेलाई पेभिलियनको बाटो देखाएका सोमपालले व्यक्तिगत पहिलो विकेट लिए । सोमपालको बलमा फोर्डे कुशल भुर्तेलबाट क्याच भए । आफ्नो अन्तिम ओभरमा सोमपालले थप दुई विकेट लिन सफल भए । यसपाली फाबियन एलेन र गुडाकेश मोटी सोमपालको शिकार बन्न पुगे । उनीहरुले क्रमशः तीन र एक रन जोडे ।