लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

कीर्तिपुर नगरपालिका, ड्रिम टिम र रोयल बास्केटबल एकेडेमीको विजयी सुरुआत

काठमाडौं । कीर्तिपुर नगरपालिका, ड्रिम टिम र रोयल बास्केटबल एकेडेमीले लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताका सोमबार विजयी सरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई ९५–६९ ले पराजित गर्यो ।

कीर्तिपुरले चारै क्वाटरमा अग्रता लिएको थियो । कीर्तिपुरले २५–२१, २३–१८, २४–१६ र २३–१४ को अग्रतासहित विजयी सुरुआत गरेको हो । कीर्तिपुरको जितमा सोमन महर्जनले २४ स्कोर गरे ।

सोमबारै पुरुषतर्फ भएको अर्को खेलमा सुजन महर्जनको ३१ स्कोरप्रेरित ड्रिम टिमले शंकर देव क्याम्पसलाई ८३–४८ ले हरायो ।  

ड्रिम टिमले पहिलो क्वाटरमा १५–१४ को दोश्रोमा २३–१३, तेश्रोमा ३२–१२ र चौथोमा १३–९ को अग्रतासहित जित निकाल्यो ।


यस्तै, महिलातर्फ रोयल बास्केटबल एकेडेमीले ललितपुर हाइमाथि ४८–३९ को जित दर्ता गर्यो ।

पहिलो क्वाटरमा १४–१० को अग्रता बनाएको रोयल दोश्रोमा ९–९ को बराबरीमा रोकियो । तेश्रो क्वाटरमा रोयल ८–१२ ले पछि परेपछि खेल ३१–३१ को बराबरीमा पुगेको थियो । चौथो तथा अन्तिम क्वाटर रोयलले १७–८ ले आफ्नो पक्षमा पार्दै जित निश्चित गर्यो।

आयोजक संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको उद्घाटन स्व. लामाका पिता लामा पासाङ शेर्पा र दाइ नवाङ निमा लामाले गरे । फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको पुरुषमा १३ र महिलामा पाँच टिम सहभागी छन् ।