चार देशीय ट्वान्टी२० अन्तर्राष्टिय शृंखला

चारदेशीय शृंखलाः आयरल्यान्डसँग १६ रनले हार्याे नेपाल

मस्कट । चारदेशीय ट्वान्टी २० क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ । 

सोमबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा एक सय २७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रनमात्र जोड्न सक्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै, आशिफ शेखले २३, कुशल भुर्तेलले १५ र कमलसिंह ऐरीबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आयरल्यान्डका मार्क अदाइर, सिमी सिंह, बेरी, म्याककार्थी र एन्डी म्याकब्रिनले समान दुई विकेट लिए । यसबाहेक कर्टिस क्याम्फेरले एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङमा आएको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २७ रनको योगफल खडा गरेको थियो ।

आयरल्यान्डका जर्ज डक्रेलले सर्वाधिक २८ रन बनाए । यस्तै, कर्टिस क्याम्फेरले २०, कप्तान एन्डी बलबिर्नीले १९ र लोरकन टकरले १५ रन जोडे ।

नेपालका दीपेन्द्रसिंह सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले २१ रन खर्चिएका थिए । यसबाहेक, अविनाश बोहराले दुईसँगै कप्तान सन्दीप लामिछाने, जितेन्द्र मुखिया र कमलसिंह ऐरीले समान एक विकेट लिए ।

शृंखलाको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गर्दा दोस्रो खेलमा सयुक्त अरब इमिरेट्स (युएई) लाई २५ रनले नतिजा सुम्पिएको थियो ।

यस्तै, शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको आयरल्यान्ड दोस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको थियो ।

ट्वान्टी २० विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका लागि आयोजित शृंखलामा नेपालसहित ओमान, आयरल्यान्ड र युएई सहभागी थिए ।

नेपालले विश्वकपको ग्लोबल क्वालिफायर्समा ६ गते आयोजक ओमानसँग, सात गते फिलिपिन्ससँग र नौ गते समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्ने तालिका छ ।