महानगरस्तरीय स्क्वास प्रतियोगिता

पोखरामा स्क्वास प्रतिस्पर्धा सुरू, दुई जना सम्मानित

स्व.रामप्रसाद कोइरालाकी श्रीमती सम्मान ग्रहण गर्दै

पोखरा । स्क्वास र्याकेट संघ, कास्कीको व्यवस्थापन तथा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो महानगरस्तरीय स्क्वास प्रतियोगिता सुरू भएको छ ।

प्रतियोगिता पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शुक्रबार सुरू भएको हो । शनिबारसम्म हुने प्रतियोगितामा ३८ जना खेलाडी सहभागी छन् । 

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य राजेश गुरूङले गरे ।

प्रतियोगितामा ४५ वर्षमाथि भेट्रान्समा, पुरूष खुलामा ११, नवआगन्तुकमा आठ र महिलातर्फ सात जना सहभागी छन् ।

शुक्रबार यी सबै विधाको सेमिफाइनल छनोट सकिएको छ । भेट्रान्सको सेमिफाइनलमा राजु श्रेष्ठ र कमल बस्नेततथाम पुष्पराज श्रेष्ठ र नवराज भिड्ने छन् । पुरुष खुलामा फाइनल प्रवेशका लागि आभान श्रेष्ठ र शक्ति शर्मा तथा दसुजन आचार्य र आरभ श्रेष्ठ प्रतिस्पर्धा गर्नेछन् ।  

नवआगन्तुकतर्फ जेम्स शाक्य र मनोरम बज्राचार्य तथा रिजन बुद्धाचार्य र प्रसुन बुद्धाचार्यबीच सेमिफाइनल भिडन्त हुनेछ । 

महिलातर्फको सेमिफाइनलमा आशुका रञ्जित र करिश्मा ओली भिड्नेछन् । यो खेलको विजेताले फाइनलमा स्थान बनाइसकेको सृष्टिका उदाससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः आठ हजार र चार हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए । तृतीय हुने दुई जनाले जनही दुई हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

दुई जनालाई सम्मान

पोखरा महानगरपालिका खेलकुद विकास समिति र स्क्वास र्याकेट संघ, कास्कीले पोखरामा स्क्वासको विकासमा योगदान गर्ने दुई जनालाई सम्मान गरेको छ ।

तेस्रो महानगरस्तरीय स्क्वास प्रतियोगिताको अवसरमा पोखरामा स्क्वास भित्र्याएका स्व. रामप्रसाद कोइरालालाई मरणेप्रान्त सम्मान र रंगशालामा स्क्वासको पूर्वाधार बनाउन भूमिका खेलेका प्रकाश केसीलाई शुक्रबार सम्मान गरिएको हो ।

राखेप बोर्ड सदस्य राजेश गुरुङ, पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार, स्क्वास एसोसिएसन कास्की अध्यक्ष प्रवीण पालिखेलगायतले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरे । स्व. कोइरालाको सम्मानपत्र उनकी धर्मपत्नी रजनीलाई प्रदान गरियो ।

पोखरा गणेश टोलका कोइरालाले २०५७ सालतिर घरमै स्क्वासको कोर्ट बनाएर खेल्न–खेलाउन सुरू गरेका थिए । उनकै नेतृत्वमा २०६० सालमा विधान बनाएर स्क्वास खेलाडी संगठित भएका थिए । स्व. कोइरालाकी श्रीमती रजनीले त्योबेला श्रीमानले सिंगापुरबाट स्क्वासको राकेट र बल ल्याएर खेलाउने गरेको सुनाइन् । 
‘स्क्वास पोखरामा घरायसी र पारिवारिक किसिमले सुरू भयो,’ उनले भनिन्, ‘२०५७ सालमा घर बनाउँदा नै उहाँले स्क्वासको लागि एउटा कोठा चाहिन्छ भनेर बनाउनुभयो । पछि विधान बनाउँदा म उहाँसँगै काठमाडौं गएकी थिएँ ।’

उनले स्क्वासमा थप खेलाडीलाई आकर्षित गर्न र आफ्नो श्रीमानले थालेको अभियानलाई निरन्तरता दिइरहन आग्रह गरिन् । उनले घरमा रहेको स्क्वास कोर्ट भएको कोठा पनि भाडामा नलगाई यत्तिकै राखेको सुनाइन् । ‘त्यसमा विद्यार्थीलाई खेलाउन सके राम्रो हुन्थ्यो होला । अहिले ठाउँ परिवर्तन भएको छ । रंगशाला खुला ठाउँ हो, यहाँ सबैलाई सजिलो पनि भयो,’ रजनीले भनिन्, ‘आज यति धेरै खेलाडी देख्दा म पनि निकै खुसी छु । यो त पोखरालाई उपलब्धी हो ।’ रामप्रसादको २०६२ साल २८ असोजमा निधन भएको थियो ।

कोइराला परिवारको घरमा खेल्ने गरिएको स्क्वास २०७४ सालमा कोर्ट बनेपछि पोखरा रंगशालामा हुन थालेको हो ।

२०६८ सालमा भएको छैंटौं राष्ट्रिय खेलकुद र २०७३ सालको सातौं राष्ट्रिय खेलकुदको स्क्वासको पश्चिमाञ्चल छनोट खेल कोइरालाकै घरमा रहेको कोर्टमा भएको थियो । हाल पोखरा रंगशालामा दुई वटा स्क्वास कोर्ट छन् ।