पाँचपोखरी जिल्लास्तरीय ट्वान्टी २० क्रिकेट प्रतियोगिता

जिल्लास्तरीय क्रिकेटः उपाधिका लागि पाँचपोखरी र ह्याल्मो-११ भिड्ने

ट्रफीका साथ दुई टोलीका कप्तान

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र साविक विजेता ह्याल्मो-११ पाँचपोखरी जिल्लास्तरीय ट्वान्टी २० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हरायो।

पाँचपोखरीले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याएको हिमालयन १९ ओभरमा ११९ रनमा समेटियो । हिमालयनका ओपनरद्वय पासाङ तामाङले ३३ र आर्या तामाङले २५ रन बनाए ।

पाँचपोखरीका लागि कप्तान सार्थक घितालले चार ओभरमा १४ रन खर्चिदै चार विकेट लिए ।  

त्यसअघि सार्थकको अर्धशतकप्रेरित पाँचपोखरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रनको योगफल तयार पार्यो ।

ट्रफीका साथ दुई टोलीका कप्तान

सार्थकले ४४ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५० रनको योगदान गरे । यसैगरी  विवेक राना मगरले ३० र आर्यन धितालले २८ रन बनाए ।

पहिलो सेमिफायनलमा ह्याल्मो -११ ले मेलम्ची नगरपालिकालाई १० विकेटले हरायो।मेलम्चीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य ह्याल्मोले १० ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।

 ह्याल्मोका लागि विनोद तामाङले  ३८ बलमा नौ चौकाको मद्दतले ६० रन बनाए । यसैगरी नाम्गिल शेर्पाले २६ जोडे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको मेलम्चीले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनको योगफल तयार पार्यो । मेलम्चीका लागि सोनु देवकोटाले २९ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।