अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता

अन्तर विद्यालय क्रिकेटः वालिका र सरस्वती फाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट वाउन्ड्रीको सहयोगमा जारी विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा लगातार चौथो जित निकाल्दै र वालिका र सरस्वती स्कुल फाइनल प्रवेश गरेका छन्  ।

विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबारको पहिलो खेलमा महेन्द्र स्कुललाई सरस्वती स्कुलले ६४ रनले पराजित गर्यो । सरस्वतीले प्रस्तुत १२२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित १६ ओभरमा सात विकेट गुमाउँदै ५७ रन मात्र बनाउन सक्यो ।

महेन्द्रका लागि शिवानी खातुनले सर्वाधिक ६ रनको योगदान दिइन् । सरस्वतीकी चाँदनी यालव र अन्जली मण्डलले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १२१ रनको योगफल तयार पार्यो । सरस्वतीका लागि कृतिषा धामीले सर्वाधिक ४३ रनको योगदान दिइन् । महेन्द्रकी धनवन्ति रायले एक विकेट लिइन् ।

दोस्रो खेलमा वालिका स्कुलले आदर्श स्कुललाई ३५ रनले पराजित गर्यो । वालिकाले प्रस्तुत गरेको १११ रनको विजयी लक्ष्य पाएको आर्दश निर्धारित १६ ओभरमा चार विकेट गुमाई ७५ रनमा सिमित भयो ।

आदर्शका लागि करुणा राजवंशीले सर्वाधिक १८ रनको योगदान दिइन् । वालिकाकी वविता गुप्ताले दुई विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वालिकाले निर्धारित १६ ओभरमा चार विकेट गुमाएर ११० रनको योगफल तयार पार्यो । वालिकाका लागि वुदिता राजवंशीले ३० र सकुन्तला सहनीले २५ रन बनाए । आर्दशकी अपर्णा राजवंशीले दुई विकेट लिइन् ।

तेस्रो खेलमा सत्यनारायण स्कुलले मिल्स स्कुललाई ३९ रनले निरास बनायो । सत्यनारायणले प्रस्तुत गरेको १०९ रनको  पछ्याएको  मिल्स १५ ओभरमा ६९ रनमा सिमित भयो ।

मिल्सका लागि सुमन चौधरीले सर्वाधिक ११ रनको योगदान दिइन् । सत्यनारायणका लागि सन्जना पासवनल तीन विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सत्यनारायणले निर्धारित १६ ओभरमा पाँच विकेट गुमाउँदै १०८ रनको योगफल तयार पार्यो । सत्यनारायाणका लागि यादवले सर्वाधिक १६ रनको योगदान दिइन् । मिल्सकी सुमन चौधरीले दुई विकेट लिइन् । 

यसैगरी चौथो खेलमा वालिकाले महेन्द्रलाई पाँच विकेट तथा पाँचौं खेलमा सरस्वतीले सत्यनारायणलाई आठ विकेटले पराजित गरे । यसैगरी दिनको छैटौं तथाअन्तिम खेलमा मिल्सले आदर्शलाई ६ रनले हरायो ।