पोखरा स्पोर्टस अवार्ड

पोखरा स्पोर्टस अवार्डलाई राखेपले सहयोग गर्ने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डकाे आठौँ संस्करणलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने भएको छ ।

मञ्चका प्रतिनिधिसँगको भेटमा राखेप सदस्यसचिव टंकलाल घिसिङले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दीननाथ बरालले बताए ।

अवार्ड कार्यक्रममा सहयोग जुटाउने उद्धेश्यले मञ्चको टोली काठमाडौं पुगेको थियो । अध्यक्ष बराल, सदस्य राजु गिरीसहितको टोलीसँगको भेटमा सदस्य सचिव घिसिङले पोखरा स्पोर्टस अवार्डलाई भव्य बनाउनका लागि आफ्नो र राखेपको साथ रहने बताएका थिए ।

मञ्चले आगामी बैशाख २१ गते अवार्ड कार्यक्रम गर्ने निर्णय गरिसकेको छ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको महासचिव राजाराम पौडेलले जनाए ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव पौडेलले जनाए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्नेछ । थप सहयोगी जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।