त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेपालको पहिलो जित

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलामा नेपालले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार नेपालले नामिबियालाई तीन रनले पराजित गर्यो ।

जितसँगै नेपालको तीन खेलमा दुई अंक छ । लगातार दोस्रो पराजय ब्यहोरेको नामिबियाको पनि समान खेलबाट दुई अंक नै छ ।

नेपालले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १७७ रन बनायो । जितका लागि अन्तिा ओभरमा १२ रन चाहिएको अवस्थामा नामिबियाले एक विकेट गुमाउँदै आठ रन मात्र बनाउन सक्यो ।

नामिबियाका लागि कप्तान जेजे स्मिथले २६ बलमा ६ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी फ्रेइलिंकले ३७, जिन पियरे कोट्जीले २५, जिन ग्रिनले अविजित २३ रुबेन ट्रम्पलम्यानले १४ रन बनाए ।

तेस्रो विकेटका लागि स्मिथ र फ्रेइलिंकले ८३ रनको साझेदारी गरे । नेपालका लागि दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले समान दुई तथा अविनाश बोहराले एक किवेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै  १८० रनको योगफल तयार पार्यो ।

नेपालका लागि कुशल मल्लले ३७ बलमा चार छक्का र एक चौकाको मद्दतले अविजित ५५ रनको योगदान गरे । यसैगरी आरिफ शेखले ३१, गुल्सन झाले २६, अनिल शाहले २३, दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए ।

पाँचौं विकेटका लागि कुशल र आरिफले ८५ रनको साझेदारी गरे । नामिबियाका लागि बेन शिकोन्गोले तीन, ज्याक ब्रसेलले दुई तथा रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्टी इएटन र बेर्नार्ड स्कोल्ट्जले समान एक विकेट लिए ।

यसअघि नेपालले नामिबियासँग २० र नेदरल्यान्ड्ससँग दुई रनको पराजय ब्यहोरेको थियो । नामिबिया नेदरल्यान्ड्सँग ५९ रनले पराजित भएको थियो ।

अब नेपालले अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।