काउन्टर अट्याक

नेपाली फुटबलको ‘प्लट’ बदल्ने प्रदर्शन

काठमाडौं । एउटा ‘ब्लकबस्टर’ पुरानो हिन्दी फिल्म छ, सूर्यवंशम । अमिताभ बच्चनको दोहोरो भूमिका भएको त्यो फिल्ममा छोरा हिरा (अमिताभ) अनपढ भएकाले निकै हेला भोग्दै जिउन बाध्य हुन्छन् । बाँकी दाजुभाइ भने पढेलेखेका । जमिनदार बाबु (ठाकुर भानुप्रताप सिंह) का प्रिय हुनाले निकै सानसौकतका साथ पुल्पुलिएर हुर्कन्छन् ।

समयक्रममा नतिजा भानुप्रतापले सोचेभन्दा उल्टो निस्किन्छ । बाँकी सन्तानले बाबुकै विरासतमा सामान्य व्यवसायबाट गुजारा चलाउँछन् । तर, जमिनदारको सन्तान भए पनि घरको कामदारको हैसियतमा हुर्केका कान्छा छोरा हिरा आफ्नो क्षमता, मिहिनेत, संस्कार र इमान्दारीले सफल व्यवसायी बन्छन् । अस्पताल बनाएर समाजसेवी पिता भानुप्रतापकै सबै सपना पूरा गर्न सफल हुन्छन् ।

अभिभावक संस्थाबाट जति हेलत्व भोगे पनि महिला फुटबलको नतिजा फिल्मका हीराको जस्तै असाधारण छ । प्रत्येक परीक्षामा डिस्टिङ्क्सन । यसपालि त त्योभन्दा पनि माथि । साउदी अरेबियाको जेद्दामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा सबैको ध्यान आकृष्ट गर्न सफल प्रदर्शन । 

फिल्ममा देखाइएको यो ‘प्लट’ नेपाली फुटबलसँग धेरै मिल्छ । पुरुष फुटबलको हकमा परिस्थिति फरक होला । फिल्मका बाँकी सन्तानजस्तो दुरुस्त अवस्था पुरुष फुटबलले पनि पाएको छैन । नभई नहुने सुविधा र अवसरको हकमा पनि ‘लोएस्ट पोसिबल’ अर्थात सम्भव भएसम्म गएगुज्रिएको स्थितिबाट नेपाली पुरुष फुटबल घिस्रिइरहेको छ ।

यहाँ चर्चा समग्र फुटबलभन्दा पनि अहिले महिला फुटबलको हो । जसको अवस्था नेपाली फुटबलमा सूर्यवंशम फिल्मको हिराभन्दा पनि दुरुह छ । इमान्दार भएर भन्ने हो भने महिला फुटबलप्रति नेपाली फुटबलको सर्वोच्च निकाय (एन्फा) ले गर्ने व्यवहार आमाबाउले नचाहेर जन्मिएको सन्तानभन्दा फरक छैन । यस्तो सन्तान, जसलाई पूर्ण रुपमा त्याग्न सकिँदैन । न अपनाउने इच्छा हुन्छ न त आँट । अनि आफ्नै सन्तानलाई लावारिस बनाउँदा पनि कुनै पीडाबोध नदेखाउनेको क्षमतामा त कसरी आशा गर्नु ?

अभिभावक संस्थाबाट जति हेलत्व भोगे पनि महिला फुटबलको नतिजा फिल्मका हीराको जस्तै असाधारण छ । प्रत्येक परीक्षामा डिस्टिङ्क्सन । यसपालि त त्योभन्दा पनि माथि । साउदी अरेबियाको जेद्दामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा सबैको ध्यान आकृष्ट गर्न सफल प्रदर्शन । सशक्त उपविजेताको हैसियत प्राप्त ।

फाइनल परीक्षामा आफूभन्दा माथिल्लो स्तरको जोर्डनसँग टाइब्रेकरमा पराजित भएर उपाधि गुमाएको छ । खेलमा अग्रता लिएर २–२ को बराबरी खेल्दै नेपालले भाग्यको भरोसा रहने पेनाल्टी शुटआउटमा ५–३ ले विपक्षीलाई उपाधि सुम्पियो । तीन पटकको लगातार च्याम्पियन जोर्डन समग्रमा छैटौंपल्ट उपाधि जित्न सफल भयो ।

एन्फा पदाधिकारीको कपटपूर्ण प्रयास जे भए पनि दुई वर्षयता घरेलु फुटबलमा खुट्टा चलाउन नपाएका चेलीहरुबाट गर्व गर्नलायक प्रदर्शन पाउनु पनि चानचुने उपलब्धि होइन ।  

फाइनल जितेको भए ३८ वर्षको अन्तर्राष्ट्रिय प्रतियोगिता यात्रामा नेपाली महिला फुटबलको पहिलो उपाधि हुन सक्थ्यो । तर नेपाल ११ पटक फाइनल पुगेर उपाधि जित्ने सौभाग्य प्राप्त गर्न सकेन । यद्यपि पहिलोपल्ट नेपाली महिला फुटबलले स्वदेश–विदेश सबैतिरको ध्यान तानेको छ । सीमित अवसरबाट पनि महिला खेलाडीले उच्चस्तरीय प्रदर्शन दिएकोप्रति वाहवाही पाएका छन् ।

मुस्लिम अरबी देशहरु जहाँ महिलाका अधिकार निकै सीमित छन् । त्यस्ता देशका महिला टिमविरुद्ध पाएको यस उपलब्धिलाई एन्फाका केही पदाधिकारीहरु अवमूल्यन गर्ने प्रयासमै देखिने छन् । एन्फा पदाधिकारीको कपटपूर्ण प्रयास जे भए पनि दुई वर्षयता घरेलु फुटबलमा खुट्टा चलाउन नपाएका चेलीहरुबाट गर्व गर्नलायक प्रदर्शन पाउनु पनि चानचुने उपलब्धि होइन ।  

यसअघि विश्वकप छनोटदेखि साफ च्याम्पियनसिपसम्म पनि नेपाली महिला टोलीले चन्द्रसूर्य अंकित झण्डाको गर्विलो उपस्थिति गराएको इतिहास साक्षी छ । वाफ च्याम्पियनसिपले महिला टोलीको क्षमता र मिहिनेतलाई थप उजागर गरेको छ ।

नेपालको महिला फुटबलले देखाएको क्षमता र सम्भावना असीमित छ । दुई वर्षदेखि घरेलु फुटबलका लागि भनेर बुटको तुना कस्न नपाएका खेलाडीले साफ र वाफ च्याम्पियनसिपको फाइनल खेल्नु अनि विश्वकपलाई छानिएको भियतनाम, जोर्डनजस्तो बलियो विपक्षीसँग डटेर प्रस्तुत हुनुले पनि नेपालमा महिला फुटबल बढीभन्दा बढी महत्वको हकदार छ भन्ने पुष्टि भइसकेको छ ।

बीचमा पुगेको महिला फुटबल लिगलाई त्यतिकै रोकेर विजेता घोषणा गरेको केही महिनामै विश्वकप खेल्ने नारा ल्याएको एन्फाले महिला फुटबलमा अर्को कुनै गतिविधि नगर्नुले त्यही प्रमाणित गरिरहेको छ ।

तर, लामो समयदेखि महिला टोलीले आफ्नो क्षमता र सम्भावना प्रमाणित गरे पनि एन्फाबाट कहिल्यै महत्व पाउन सकेको छैन । एन्फाले केही महिनाअघि कार्यसमितिको बैठकबाटै २०२७ को विश्वकप खेल्ने मिसन पारित गर्यो । एन्फाले ‘मिसन फिफा महिला विश्वकप २०२७’ को नाममा पारित गरेको त्यो मिसन साच्चिकै विश्वकप खेल्नका लागि नभई राजनीतिक कपटका लागि सिर्जेको एउटा नारामात्र थियो ।

बीचमा पुगेको महिला फुटबल लिगलाई त्यतिकै रोकेर विजेता घोषणा गरेको केही महिनामै विश्वकप खेल्ने नारा ल्याएको एन्फाले महिला फुटबलमा अर्को कुनै गतिविधि नगर्नुले त्यही प्रमाणित गरिरहेको छ ।

महिला फुटबलमा इमान्दारीपूर्वक काम गरे एन्फाले जस लिनलाई एउटा यस्तो सजिलो माध्यम बन्न सक्थ्यो, जहाँ थोरै लगानीको भरमा ठुल्ठूला अन्तर्राष्ट्रिय सफलता हात लाग्न सक्थे । विनालगानी निरन्तर नेपाली फुटबलको साख राख्दै आएको महिला फुटबलमा स्पष्ट भिजन र सुझबुझका साथ थोरैमात्र लगानी गर्ने हो भने सधैं फाइनलमा निरास हुनुपर्ने नियतिबाट कम्तीमा च्याम्पियनको छवि बन्ने थियो । त्योभन्दा ठूला अन्तर्राष्ट्रिय सफलताको कथा नेपालको नाममा लेखिने थिए ।

तर, नेपालको फुटबल प्रशासनमा सफलताको अर्थमा मैदानभित्रका जित र सुधार पर्न छाडिसकेका छन् । सधैं विवाद, आन्तरिक शक्तिसंघर्ष, आपसी स्वार्थको लडाईं, कुशासन र भ्रष्टाचारको झाडी झाँगिइरहेको एन्फाभित्र सफलताको परिभाषामा मैदानभित्रको फुटबलले थोरै पनि ठाउँ पाउँदैन ।

सूर्यवंशमको हिराजस्तै एन्फाले नेपाली महिला फुटबलको प्रदर्शनरुपी ‘हिरा’ चिन्न ढिला नगरोस् । कामना !!