नेपाल ओलम्पिक कमिटी

अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा शान्ति र सुशीला सम्मानित

काठमाडौं । एक सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा नेपाल ओलम्पिक कमिटी अन्तर्गतको वुमेन्स कमिसनले बुधबार भलिबलकी पूर्व खेलाडी तथा प्रशिक्षक शान्ति गुरुङ तथा राष्ट्रिय खेलकुद परिषदकी कर्मचारी सुशीला पोडेनीलाई सम्मान गरेको छ ।

नेपाली खेलकुदमा पुर्याएको योगदान तथा सेवाका लागि उनीहरूलाई २५ हजार रुपैंया सहित सम्मान गरिएको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरूलाई सम्मान गर्दै नेपाली खेलकुदमा महिलाको योगदानबारे चर्चा गरेका थिए । 

 त्यस अवसरमा दुवैले आफ्नो कामको कदर भएकोमा खुसी व्यक्त गर्दै सम्मानका लागि धन्यवाद प्रकट गरे ।

त्यस अगाडि चीनको हानचाउमा हुने एसियाली खेलकुदमा सहभागी हुने सम्भावित खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई ‘प्रोफेसनल एक्सिलेन्स एन्ड डाइनिङ इटिक्वेट’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । काठमाडौं मेरिट होटलका निर्देशक रूपेश श्रेष्ठ र एक्जिक्युटिभ सेफ भाबी खनालले प्रशिक्षण दिएका थिए ।

वुमेन्स कमिसनले सन् २०१२ देखि प्रत्येक वर्ष नगद पुरस्कारसहित नेपाली खेलकुदमा योगदान पुर्याउने दुई जनालाई सम्मान गर्दै आएको छ । कार्यक्रम कमिसनका अध्यक्ष ज्योति राणा र पदाधिकारी तथा कमिटीका अध्यक्ष पदाधिकारीको उपस्थिति थियो ।