पल्सर स्पोर्टस अवार्ड

अञ्जन उत्कृष्ट पुरुष खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सुपरस्टार अञ्जन बिष्टले आफ्नै कप्तान किरण चेम्जोङसहित क्रिकेटका दुई र ब्याड्मिन्टनका एक प्रतिद्धन्द्धीलाई पछि पार्दै पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

वर्ष २०७८ मा नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पुर्याउन महत्वपूर्ण योगदान गरेका स्ट्राइकर अञ्जनले त्यसक्रममा श्रीलंका र बंगलादेशविरुद्ध महत्वपूर्ण गोल गरेका थिए । कोभिड १९ को विश्वव्यापी महामारीका बीच दशरथ रंगशालामा भएको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलमा उनी सर्वश्रेष्ठ फरवार्ड चुनिएका थिए ।

त्यही वर्ष विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत नेपालले तेस्रो चरणसम्मको यात्रा तय गर्दा अञ्जनले चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए ।

नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न ९ विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मानित गर्ने अवार्डको पुरुष विधामा अञ्जनसँगै फुटबलकै राष्ट्रिय कप्तान किरण चेम्जोङ, क्रिकेटका राष्ट्रिय खेलाडीहरु कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याड्मिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए ।

वर्ष २०७८ मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा मञ्चको छनोट समितिले उत्कृष्ट पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । मञ्चका सचिव अञ्जन खड्का संयोजक रहेको समितिले पाँच उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट खेलाडीको चयन मंगलबारै गरेको जनाएको छ । उत्कृष्ट पुरुष खेलाडीको अवार्डसँगै अञ्जनले पल्सर मोटरसाइकल पुरस्कार पाए ।