पल्सर स्पोर्टस अवार्ड

भलिबलकी कप्तान अरुणा उत्कृष्ट महिला खेलाडी

काठमाडौं । बंगलादेशको ढाका मिरपुरमा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनसहित उपाधि रक्षा गर्दा नेपाली राष्ट्रिय टोलीलाई प्रेरणादायी नेतृत्व प्रदान गर्ने कप्तान अरुणा शाही वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् ।

अरुणाको कप्तानीमा नेपाली महिला टिम समूह चरणका पाँच र फाइनल गरि ६ खेलमा अपराजित रहँदै च्याम्पियन बनेको थियो । सेन्ट्रल जोनमा उत्कृष्ट सेटरको पुरस्कार जितेकी अरुणा त्यही वर्ष सम्पन्न घरेलु भलिबल प्रतियोगिता छैटौं एनभिए कपमा पनि बेस्ट सेटर घोषित भएकी थिइन ।

नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न ९ विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मानित गर्ने अवार्डको महिला विधामा अरुणासँगै क्रिकेटकी राष्ट्रिय कप्तान रुविना क्षेत्री र सिता राना मगर, बक्सिङकी पुनम रावल र एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका थिए ।

वर्ष २०७८ मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा मञ्चको छनोट समितिले उत्कृष्ट पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । मञ्चका सचिव अञ्जन खड्का संयोजक रहेको समितिले पाँच उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट खेलाडीको चयन मंगलबारै गरेको जनाएको छ । उत्कृष्ट महिला खेलाडी घोषित अरुणाले पल्सर मोटरसाइकल प्राप्त गरिन ।