पहिलो राष्ट्रिय खेलकुद

कस्तो थियो पहिलो राष्ट्रिय खेलकुद ?

काठमाडौं । नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव बृहत राष्ट्रिय खेलकुदको इतिहासले चार दशक पूरा गरिसकेको छ । प्रत्येक दुई वर्षमा आयोजना गर्ने उद्घोषका साथ २०३८ सालमा सुरु भएको यो बृहत खेलमेलाले ४१ वर्ष पूरा गर्दा अहिलेसम्म कम्तीमा २० संस्करण गरिसक्नुपर्ने थियो ।

तर, देशमा लगातार भइरहेका राजनीतिक परिवर्तन, खेलकुदलाई राज्यले दिने कम प्राथमिकता र खेल प्रशासनको कमजोर प्रतिवद्धताका कारण अहिलेसम्म नेपालमा राष्ट्रिय खेलकुदका आठ संस्करण मात्र सम्भव भएका छन् ।

गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि अहिले तयारी भइरहेको छ ।

०३८ सालमा तत्कालीन राष्ट्रिय खेलकुद परिषद (राखेप)का नेतृत्व शरदचन्द्र शाहले देशका विभिन्न भागका रहेका प्रतिभावान खेलाडीलाई एकै थलोमा आफ्नो क्षमता प्रदर्शनको अवसर दिन राष्ट्रिय खेलकुद प्रतियोगिताको अवधारणा सुरु गरेका थिए । जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरमा आफूलाई अब्बल देखाउन खेलाडीका लागि राष्ट्रिय खेलकुद महत्त्वपूर्ण थलोमात्रै होइन, यो खेलकुद विकासको एउटा महत्त्वपूर्ण पाटो पनि हो ।

वर्षौंदेखि मिहिनेत गरी प्रशिक्षण गरिरहेका खेलाडीको उपलब्धि राष्ट्रियस्तरमा जाँच्ने उद्देश्यका साथ २०३८ सालमा काठमाडौंमा पहिलो पटक सुरु गरिएको राष्ट्रिय खेलकुदले आठ संस्करण पूरा गर्दा फेरि गण्डकी प्रदेशले आयोजनाको मौका पाएको छ ।

फर्केर हेर्दा: पहिलो राष्ट्रिय खेलकुद

आजभन्दा ४१ वर्षअगाडि भदौ २७ गते नेपाली खेलकुदको इतिहासका लागि स्वर्णिम दिन रह्यो । यही दिन काठमाडौंबाट प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको थियो । तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको प्रतियोगिता असोज ४ सम्म १३ गतेसम्म (९ दिन) दशरथ रंगशालामा सञ्चालन भएको थियो ।

प्रथम राष्ट्रिय खेलकुदमा ७८ स्वर्ण,  ७६ रजत र ७२ कांस्य गरी कुल २ सय २६ पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा १४ अञ्चलका १२ सय २० पुरुष र २ सय २३ महिला खेलाडीको सहभागिता थियो ।

प्रथम राष्ट्रिय खेलकुदमा १६ खेलमा १४ अञ्चलको सहभागिता रहँदा वाग्मतीले पहिलो स्थान हासिल गरेको थियो । वाग्मतीले ४४ स्वर्ण, ३३ रजत र २५ कांस्य गरी १ सय २ पदक जितेको थियो । ८ स्वर्ण, ७ रजत र ९ कांस्य गरी २४ पदक जितेको गण्डकी उपविजेता भएको थियो भने ६ स्वर्ण, १३ रजत र ६ कांस्यसहित २५ पदक जितेको कोसीले तेस्रो स्थान हासिल गरेको थियो ।

कर्णालीका लागि सहभागितामै सीमित भएको राष्ट्रिय खेलकुदले गण्डकीलाई उत्कृष्ट खेल प्रदर्शनको पुरस्कार गुथायो । धौलागिरि अनुशासित टोलीका रूपमा दर्ता भयो भने उत्कृष्ट मार्चपासको पुरस्कार पनि गण्डकीले नै हासिल गर्यो ।

यसैगरी ५ स्वर्ण, ४ रजत र ८ कांस्यसहित १७ पदक जितेको नारायणीले चौथो स्थान हासिल गर्दा ३ स्वर्ण, १ रजत र २ कांस्य गरी ६ पदक जितेको जनकपुर पाँचौं भएको थियो । ३ स्वर्ण र ७ कांस्य पदक जितेको सेती छैटौं तथा २ स्वर्ण, ६ रजत र ३ कांस्य जितेको भेरी सातौं भएका थिए । धौलागिरिले २ स्वर्ण, २ रजत र १ कांस्य पदक जित्दै आठौं स्थान हासिल गर्दा २ स्वर्ण र २ रजत जितेको महाकाली नवौं भयो ।

२ स्वर्ण र २ कांस्य जितेको लुम्बिनी १०औं हुँदा १ स्वर्ण, २ रजत र ५ कांस्य जितेको सगरमाथाले ११औं स्थान हासिल गर्यो । १२औैं भएको मेचीले ६ रजत र ३ कांस्य पदकमात्र जित्यो भने २ कांस्यमा सीमित राप्ती १३औं भयो । पुछारमा रहेको कर्णालीले कुनै पदक जित्न सकेन ।

कर्णालीका लागि सहभागितामै सीमित भएको राष्ट्रिय खेलकुदले गण्डकीलाई उत्कृष्ट खेल प्रदर्शनको पुरस्कार गुथायो । धौलागिरि अनुशासित टोलीका रूपमा दर्ता भयो भने उत्कृष्ट मार्चपासको पुरस्कार पनि गण्डकीले नै हासिल गर्यो । एउटै पदक जित्न नसकेको कर्णालीले सान्त्वनास्वरुप उत्कृष्ट पोसाकको पुरस्कार पाएको थियो ।

प्रतियोगितामा एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, भलिबल, बाघचाल, बुद्धिचाल, कबड्डी, जिम्न्यास्टिक, टेबलटेनिस, क्रिकेट, तारो हान्ने, भारोत्तोलन, ह्यान्डबल, बक्सिङ, शारीरिक सुगठन र पौडी खेल समावेश थिए ।