माउन्ट एभरेष्ट इन्टरनेसनल च्याम्पियनसिप

तेस्रो माउन्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो सातादेखि

काठमाडौं । तेस्रो माउन्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (विश्व वरीयता जी २) असोज पहिलो साता हुने भएको छ ।

आयोजक नेपाल तेक्वान्दो संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको जानकारी दिएको हो ।

असोज ६ गतेदेखि ९ गतेसम्म हुने जी २ र्याङकिङ च्याम्पियनसिपलाई विश्व तेक्वान्दो महासंघले मान्यता प्रदान गरेको आयोजकले जनाए ।

जी २ प्रतियोगिताअन्तर्गत जुनियर क्यागोरी असोज सात गते र सिनियर क्यागोरी आठ र नाै गते हुनेछ । प्रतियोगितामा सिनियर पुरुष, महिला र जुनियर पुरुष, महिलामा आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७४ केजी, ८० केजी, ८७ केजीमुनि र ८७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

सिनियर महिलामा ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६२ केजी, ६७ केजी, ७३ केजीमुनि र ७३ केजीमाथिबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, जुनियर पुरुषमा ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी, ५९ केजी, ६३ केजी, ६८ केजी र ७३ केजीमुनी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

जुनियर महिलामा ४२ केजी, ४४ केजी, ४६ केजी, ४९ केजी, ५२ केजी, ५५ केजी, ५९ केजी र ६३ केजी तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए ।

प्रतियोगितामा दक्षिण एसियाका सात देशसँगै अमेरिका, मलेसिया, इन्डोनेसिया, हङकङ लगायताका देशका खेलाडीहरुको सहभागिता रहने आयोजकले बताए ।

जी २ मान्यता नभए पनि प्रतियोगिताको पहिलो संस्करणमा १२ र दोस्रो संस्करणमा ११ राष्ट्रको सहभागिता थियो ।

प्रतियोगितामा एक हजारभन्दा धेरै खेलाडीहरुको सहभागिता रहने र यसमा करिव दुई करोड ५० लाख खर्च हुने आयोजकले बताए ।

यस्तै, नेपाल तेक्वान्दो संघ र गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा हुने प्रथम माउन्ट एभरेष्ट जिसिएस इन्टरनेसनल ओपन पुम्से तेक्वान्दो च्याम्पियनसिप ६ गते हुनेछ ।

दुवै प्रतियोगिता पोखरास्थित बहुउदेस्यिय कभर्डहलमा हुनेछ ।