राष्ट्रपति रनिङ शिल्ड

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

काठमाडौं । डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले बिहीबार १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो । दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य हात पार्यो । तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्यो । ५० स्वर्णका लाग भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५-५ स्वर्ण हात पारे । गण्डकीले थप समान ११–११ रजत र कांस्य पनि प्राप्त गर्यो । स्वर्णका अलावा कर्णालीले १० रजत र १५ कांस्य हासिल गर्यो ।

प्रतियोगितामा ४ कीर्तिमान बने । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । निशा चौधरीले मात्र २ व्यक्तिगत र एक टिममा कीर्तिमान रचिन् । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमानलाई उछिनिन् । १ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरिन् ।

त्यस्तै ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसंग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान रचिन् । छात्र लङजम्पमा सुदिप थारुले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराई, प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । कुल नगद पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको तेश्रोपटक हो ।