फुटबल

‘खेलाडीलाई वर्षभर व्यस्त राख्ने क्यालेन्डर ल्याऊ’

काठमाडौं । अखिल नेपाल फुटबल खेलाडी संघले खेलाडीलाई वर्षभर व्यस्त राख्ने क्यालेन्डर सार्वजनिक गर्न सर्वोच्च निकायसामु माग गरेको छ । बुधबार खेलााडी संघका अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथुले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीर्घबहादुर (कुमार केसी) तथा महासचिव किरण राई लगायतलाई पाँच मागसहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै पत्रमा लेखिएको छ, ‘पछिल्लो सयम खेलाडकिो राष्ट्रिय योगदानको अवमुल्यन गर्दै भइरहेका गतिविधि र कार्य सन्तोा जनक छैन । खेलाडीलाई अपमानजन रुपमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकाल्ने मुख्य प्रशिक्षकको व्यवहारले सिंगो फुटबल खेलाडी जगतलाई मर्माहत बनाएको छ ।’

एन्फाले त्यसरी निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय पहिलो कार्यसमिति बैठकबाट गरिसकेको छ । त्यो निर्णयको स्वागत गर्दै खेलाडी खुशी नभए कुनै खेलको विकास नहुने पत्रमा जिकिर छ ।

यस्तै, पाँच मागमा खेलाडीलाई वर्षभर व्यस्त राख्ने क्यालेन्डर, फुटबलको पुर्नसंरचना गर्दै नयाँ खाका तयार गरेर कार्यान्वयन गर्न, खेलाडीको स्वास्थ बीमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्न र खेलाडी प्रशिक्षक विवादको सन्दर्भमा छानविन समितिले दिएको सुझावको आधारमा प्रशिक्षकको विषयमा कार्यअघि बढाउन भनिएको छ ।

छानविन समितिले एएफसी एसियन कप छनोटको तेस्रो चरणपछि कतार एफएसँग छलफल गरेर मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको थियो ।

यस्तै पत्रमा उल्लेखित पाँचौं बुँदामा पछिल्लो सयम अवसरको खोजीमा खेलाडी विदेशिने क्रमलाई गम्भीरतापूर्वक लिएको र त्यसको कारण घरेलु प्रतियोगिता नभएको भन्दै यथासिघ्र क्लब फुटबलका कार्यक्रम सार्वजनिक गर्न खेलाडी संघले माग गरेको छ ।