फुटबल

फुटबलरका अविश्वसनीय पुनरागमनको कथा

लन्डन । युरो २०२० अन्तर्गत फिनल्यान्डविरुद्धको खेल दौरान हृदयघातका कारण मैदानमै ढलेको १२ महिना नबित्दै डेनमार्कका मिड्फिल्डर क्रिस्टियन इरिक्सनले मैदानमा पुनरागमन जनाएका छन् ।

हृदयघातका कारण शरिरमा पेसमेकर जडान गर्नुपरेको थियो । त्यसका बावजुद इरिक्सनले फेरि उच्च स्तरीय फुटबलका लागि मैदान फर्किएर यो सुन्दर खेलको इतिहासमा एउटा रोमाञ्चक अध्याय थपेका छन् ।

पेसमेकर जडान गरिएको खेलाडीले इटालियन सिरी ‘ए’मा खेल्न नपाउने भएका कारण इरिक्सनले गत डिसेम्बरमा इन्टर मिलानसँगको सम्झौता रद्द गरे । तथापि ३० वर्षे मिड्फिल्डरले इङ्लिस प्रिमियर लिगमा फर्किने सम्भावनाका लागि गत सिजन ब्रेन्टफोर्डमा प्रयास गरे । ब्रेन्टफोर्डबाट उनले गत सिजन ११ खेलमा एक गोल समेत गर्न भ्याए । र अहिले उनी म्यानचेस्टर युनाइटेडको जर्सीमा मैदान फर्किने करिब पक्का भएको छ ।

दी एथलेटिकले जनाएअनुसार इरिक्सन र युनाइटेडबीच सहमति जुटिसकेको छ । आयाक्सबाट उच्च स्तरमा व्यावसायिक करियर सुरु गरेका इरिक्सनले २०१३ देखि २०२० सम्म उत्तरी लन्डनको टोली टोटनहमबाट खेलेका थिए । टोटनहमका लागि प्रिमियर लिगमा दुई सय २६ खेल खेल्दै उनले ५१ गोल गरेका थिए ।

अत्यन्तै कठिन स्वास्थ्य समस्याबाट गुज्रिएपछि पनि बहादुर इरिक्सन मैदान फर्किए । विश्व फुटबलमा गम्भीर चोट तथा स्वास्थ्य समस्याबाट गुज्रिएपछि त्यसमाथि विजय प्राप्त गर्दै मैदान फर्किएका अरु केही बहादुर खेलाडीका कथा पनि छन् ।

जोनस गुटिरेज

गुटिरेजको कथालाई एउटा फिल्मको प्लट मान्ने हो भने पनि पत्यार गर्न कठिन छ । गुटिरेजले २०१३ को अक्टोबरमा टेस्टिकुलर क्यान्सरको उपचार गराउनुपर्यो । जसका कारण उनी न्युक्यासल युनाइटेडको टोलीबाट १८ महिना मैदान बाहिर रहे । त्यसमा नर्विचसँगको लोन सम्झौता अवधि पनि सामेल थियो ।

तर क्यान्सरबाट पीडित हुनाका बावजुद सफल उपचारपछि उनी २०१५ मा मैदान फर्किएर न्युक्यासलको रेलिगेसनविरुद्धको संघर्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भए । प्रिमियर लिगको अन्तिम दिन वेस्ट ह्यामविरुद्धको महत्वपूर्ण खेलमा गुटिरेजले एउटा शानदार गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरे । जसले टोलीको जित सम्भव बनायो र प्रिमियर लिगमा हैसियत जोगियो । न्युक्यासलका लागि नायकको भूमिका निर्वाह गरेको केही सातामै उनले क्लब छोडे ।

इरिक एबिडाल

फ्रान्सका पूर्व फुल ब्याक एबिडाललाई कलेजोमा ट्युमरको समस्याले सताएको थियो । जसका लागि उनको शल्यक्रिया गराउनुपर्यो । तर शल्यक्रिया गराएको दुई महिना नबित्दै उनी युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो उपाधि जित्ने सफल खेलाडीका रुपमा पुनस्थापित भए ।

२०११ को मार्चमा लेफ्ट ब्याक एबिडालको कलेजोबाट ट्युमर निकाल्न तीन घण्टा लामो शल्यक्रिया गर्नुपरेको थियो । तर त्यसपछि उनको निको हुने क्रम निक्कै रफ्तारका साथ भयो । त्यही वर्ष मे महिनामा भएको च्याम्पियन्स लिग फाइनलमा शल्यक्रिया गरेको दुई महिना नबित्दै एबिडाल पूरा समय मैदानमा फुर्तिका साथ खेले । म्यानचेस्टर युनाइटेडलाई हराउँदै उनको टोली बार्सिलोनाले उपाधि जित्दा एबिडालको भूमिका नायकको थियो ।

पुरानो शल्यक्रियाबाट समस्याको पूर्ण समाधान नभएपछि लगत्तैको वर्ष एबिडालले कलेजो प्रत्यारोपण गर्नुपर्यो । त्यसपछि उनी पूरा एक वर्ष स्वास्थ्यलाभका लागि आराममा रहे ।

तर त्यसपछि पनि एबिडालको फुटबल सम्बन्धमा पूर्णविराम लागेन । कलेजो प्रत्यारोपणपछिका दुई सिजन उनले मोनाको र ओलम्पियाकोसबाट व्यावसायिक फुटबल खेले । २०१४ मा भने उनले खेलाडी जीवनबाट संन्यास लिएका थिए ।

पिटर चेक

इङ्ल्यान्डमा प्रिमियर लिगको युग सुरु भएयताका सर्वोत्कृष्ट गोलकिपरमध्येका एक पिटर चेक एकपटक मैदानमा मृत्युको निक्कै नजिक पुगिसकेका थिए । १००६ मा रिडिङका स्टेफन हन्टसँग ठोक्किँदा चेकको टाउकोमा गम्भीर चोट लाग्यो ।

घटनामा चेकको टाउकोको हड्डी भाँचिएको थियो । जसका कारण उनको टाउकोको जटिल शल्यक्रिया गर्नुपरेको थियो । पछि ठिक भएपछि चेकलाई उक्त घटनाबारे सोध्दा उनले आफूलाई केही पनि याद नरहेको बताएका थिए । 

ज्यानै जान सक्ने खालको गम्भीर चोट र त्यसपछिको जटिल शल्यक्रियाका बावजुद चेक गणतन्त्रका गोलकिपर तीन महिनापछि नै मैदान फर्किए । तर त्यसपछि मैदान फर्किँदा उनको टाउकोमा सुरक्षात्मक हेडगार्ड पनि थियो । जसलाई उनले त्यसपछिको आफ्नो पूरा खेलाडी करियरभरि नै लगाइरहे ।

चोटबाट फर्केपछि पनि मैदानमा चेकको प्रदर्शनमा कुनै कमी आएन । त्यसपछि पनि उनले चेल्सीबाट चार पटक इङ्लिस प्रिमियर लिग,  एक पटक च्याम्पियन्स लिग, चार पटक एफए कप, तीन पटक लिग कप र एक पटक युरोपा लिगको उपाधि उचाले ।

राउल जिमेनेज

चेकजस्तै उल्भसका स्ट्राइकर जिमेनेजको पनि टाउकोको हड्डी भाँचिएको थियो । २०२० नोभेम्बरमा आर्सनलका रक्षक डेविड लुइजसँग ठोक्किँदा मेक्सिकन खेलाडी जिमेनेज गम्भीर घाइते भएका थिए ।

ठोक्किने वित्तिकै बेहोस भएर मैदानमा ढलेका जिमेनेजलाई चिकित्सकहरुले मैदानमै अक्सिजन दिएका थिए । त्यसपछिमात्र स्ट्रेचारमा राखेर बाहिर निकालिएका जिमेनेज ठिक हुनुलाई चिकित्सकहरुले ‘जादु’ भएको भनेर व्याख्या गरेका थिए ।

केही महिनापछि नै ठिक भएर अभ्यासमा फर्किए पनि टोलीले उनलाई तत्काल खेलाउने जोखिम लिएन । केही समय उनलाई बडो सुरक्षित तरिकाले एक्लै अभ्यास गरायो । ६ महिनाको अभ्यासपछि उनी अझै पनि व्यावसायिक फुटबल खेल्न शारिरिक रुपमा सक्षम भएनभएको परिक्षण गरेपछि मात्र उनलाई खेल्ने अनुमति दिइयो ।

तथापि घाइते भएको आठ महिनाभित्र यी सबै प्रक्रिया पूरा भए । २०२१–२२  सिजनको पहिलो खेलमै उनले मैदानमापुनरागमन जनाए ।

प्रशिक्षक ब्रुनो लागेको पहिलो सिजनमा उल्भसले १०औं स्थान हासिल गर्दा वितेको सिजन जिमेनेजको प्रदर्शन उल्लेखनीय रहयो । उनले टोलीका लागि प्रिमियरलिगमा ६ गोल गर्नुका साथै चार गोलका लागि अवसर सिर्जना गरेका थिए ।

जिबरिल सिसे

फ्रान्सका पूर्व अन्तर्राष्ट्रिय खेलाडी सिसेले इङ्ल्यान्डमा लिभरपुल, सन्डरल्यान्ड र क्विन्स पार्क रेन्जर्स (क्युपिआर)बाट व्यावसायिक फुटबल खेले । तर उनको करियर पनि चोटका कारण निक्कै प्रभावित भयो । खेलाडी जीवनमा सिसेको एक पटकमात्र नभई दुई पटक नराम्ररी खुट्टा भाँचिएको थियो ।

पहिलो पटक २००४ मा लिभरपुलका लागि १९औं खेल खेल्ने क्रममा ब्ल्याकबर्नविरुद्ध अक्टोबरमा भएको खेलमा उनको खुट्टा भाचिएको थियो । ब्ल्याकबर्नका जे इभेलीसँग पचास पचासको अवस्थामा बलका लागि भिड्दा उनको खुट्टा भानिएको थियो । इभेलीसँग नराम्ररी जुध्दा उनको बायाँ खुट्टाको बुट बाँकी शरिरसँग छुट्टिएजसरी मैदानमै टास्सिएको थियो ।

फ्रान्सका लागि ४१ अन्तर्राष्ट्रिय खेल खेलेका सिसे त्यो चोटपछि सिजनको बाँकी  पूरा समय मैदान बाहिर रहने अनुमान गरिएको थियो । तर उनी घाइते भएपछि साँढे पाँच महिनाको उपचार तथा आरामपछि २००५ को अप्रिलमै मैदान फर्किए ।

लगत्तै एक वर्षपछि सिसेले त्यस्तै डरलाग्दो अर्को एउटा चोट सामना गर्नुपर्यो । जर्मनीमा भएको विश्वकप २००६ का लागि फ्रान्सले खेलेको अन्तिम अभ्यास खेल दौरान सिसेको अर्को खुट्टा भाँचिएको थियो । जसका कारण मार्से लाग्ने तयारीमा रहेका उनको सरुवामा पनि ढिलाई भएको बताइन्छ ।

अन्तत उनी लिभरपुलबाट लोन सम्झौतामा फ्रान्सेली क्लब मार्सेमा आबद्ध भए । जहाँबाट उनले २००६ को डिसेम्बरमा डेब्यु गरेका थिए । २०२१ सेप्टेम्बरमा युवा टोलीको प्रशिक्षकका रुपमा मार्से फर्किनुअघि सिसेले खेलाडी जीवनमा १२ फरक क्लबको जर्सी लगाएका थिए ।

सान्टी काजोर्ला

कुर्कुच्चाको पछिल्लो भागमा लागेको चोटका कारण काजोर्लाको चम्किलो करियर असमयमै टुंगिने खतरा त थियो नै, त्योभन्दा बढि त उनले त्यसपछि आफ्नै खुट्टाले हिड्न सक्नेमा पनि दुविधा सिर्जना गरेको थियो ।

रक्षात्मक मिड्फिल्डर काजोर्ला २०१३ को सेप्टेम्बरमा स्पेनका लागि चिलीविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै थिए । विपक्षी खेलाडीको एउटा सामान्य र स्वभाविक ट्याकलमा काजोर्लाको कुर्कुच्चाको पछिल्लो भागको एउटा सानो हाड भाँचियो । त्यो सामान्य लाग्ने चोटकै कारण उनले खेल्न छोडेनन् । तर केही महिनापछि प्रत्येक दिन उनलाई दुख्न थाल्यो । त्यही दुखाईका कारण २०१६ अक्टोबरमा आर्सनलको टोलीबाट च्याम्पियन्स लिगअन्तर्गत लुडोगोरेट्स रेजगार्डविरुद्धको खेल दौरान उनले बीचमै मैदान छोड्नुपर्यो ।

त्यो दुखाईबाट मुक्तिपाउनका लागि उनको ११ पटक शल्यक्रिया गरियो । यही क्रममा एक पटक त काजोर्लाले चरम निराशामा पुगेर आफू सामान्य रुपमा हिड्न मात्र सक्ने हुन पाए पनि सन्तुष्ट हुने प्रतिक्रिया दिए । तर २०१४ को मेमा उनको समस्या पूर्ण रुपमा समाधान भयो । चिकित्सकहरुले उनको वायाँ पाखुराबाट छाला निकालेर दायाँ खुट्टाको त्यो चोटग्रस्त स्थानमा प्रत्यारोपण गरेपछि काजोर्ला पूर्ण रुपमा ठिक भएका थिए ।

काजोर्लाले २०१८ मा सम्झौता सकिएपछि आर्सनलबाट विदा लिए । तर त्यसपछि पनि उनलाई करिरयर सुरु गरेको क्लब भियारियालबाट प्रस्ताब आयो । आल उनी कतारी क्लब अल सादबाट खेल्छन् ।