भलिबल

खेलाडीमाथि प्रतिबन्ध लाग्ने!

काठमाडौं । गत वैशाखमा काठमाडौंमा सम्पन्न एनभिए भलिबल राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिपमा रेफ्रीलाई दुर्ब्यहार गर्ने खेलाडीमाथि प्रतिबन्ध लाग्ने भएको छ ।

नेपाल भलिबल संघको अनुशासन कमिटिले उक्त घटनाको प्रतिवेदन तयार गर्दै रेफ्रीलाई स्पष्टीकरण सोधेर खेलाडीलाई प्रतिबन्ध लगाउन कार्यसमितिमा प्रस्ताव गर्नेछ । कमिटीले छानविनपछि तयार गरेको प्रतिवेदन आगामी र्कासमिति बैठकमा पेस हुनेछ ।

अनुशासन कमिटिले हेल्प नेपाल र प्रतियोगितामा कालोपट्टी बाँधेको विषयमा अन्तर्राष्टिय एफआइभिबी रेफ्री गौतम लासिवासँग स्पष्टीकरण सोध्ने अनुशासन कमिटीका सदस्य मनवीर छन्त्यालले खेलाडीसँग बताए ।

‘हेल्प नेपालका खेलाडी तथा प्रशिक्षकले अभद्र व्यवहार गरेको र रेफ्रीको निर्णयमा असन्तुष्टि देखाउँदै नेटमा हानेको,’ विषयमा भएको छानविन पछि कमिटीले यो निष्कर्षमा पुगेको कमिटिका सदस्य छन्त्यालले बताए ।

‘प्रतियोगितामा भएको यो घटनालाई लिएर हामीले प्रतिवेदन तयार गरेका छौं । यो प्रतिवेदन संघको केन्द्रिय बैठकमा पेश गर्छाै,’ उनले भने, ‘त्यसबाट पारित भएपछि एक हप्तासम्ममा सबैको स्पष्टीकरण माग्छौं र खेलाडीलाई प्रतिबन्ध पनि लगाउने तयारीमा छौं ।’

यस्तै, हेल्प नेपालमा सम्मिलित दुई भारतीय खेलाडी बिनितकुमार र रोहितकुमारलाई एक सिजन प्रतियोगिता खेल्न प्रतिबन्ध तथा गण्डकी प्रदेशका सुजन चोखाललाई एक वर्ष राष्ट्रियस्तरीय प्रतियोगिता खेल्न प्रतिबन्ध लगाउने लगायतका मागहरु सो प्रतिवेदनमा भएको छन्त्यालले बताए ।

भलिबल संघको केन्द्रिय बैठक साउन पाँच गते हुने तालिका छ ।