पारा राष्ट्रिय खेलकुद

पारा राष्ट्रिय खेलकुदको उद्घाटन

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने पारा राष्ट्रिय खेलकुदको शुक्रबार उद्घाटन गरिएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलकुदको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।

सोही अवसरमा २५ औं विद्यालयस्तरीय विशेष खेलकुदको पनि सदस्यसचिव घिसिङले उद्घाटन गरे । एकदिने प्रतियोगितमा ४० स्पर्धामा २ सय ९० खेलाडी सहभागी थिए ।

बहिराको २ सय मिटर दौडको छात्रमा केन्द्रीय बहिरा माविका विशाल नकर्मी तथा छात्रामा सोही माविकी शिल्पाकुमारी कर्णले स्वर्ण जिते । आंशिक दृष्टिविहीनको १ सय मिटर दौडमा ग्यालेक ग्याल्छेन पहिलो भए । बौद्धिक अपाङ्गको १ सय मिटर दौडतर्फ छात्रमा निर्मल स्कुलका प्रवल शर्मा र छात्रामा नवज्योतिकी रोजिना श्रेष्ठले शीर्ष स्थान हात पारे ।

पारा राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न १२ संस्थालाई दृष्टिविहीन क्रिकेट, बोसिया, साउन्ड टेबलटेनिस, व्हीलचेयर बास्केटबल, बहिरा फुटसल र बुद्धिचाल, दृष्टिविहीनको गोल बल, पारा साइक्लिङ, पारा भारोत्तोलन तथा एम्पुटी फुटबल सञ्चालन गर्न जिम्मेवारी दिइएको छ । सम्बन्धित संस्थाले जेठ १५ गतेसम्म आ–आफ्नो जिम्मामा परेको खेल सम्पन्न गर्नु पर्ने छ । सम्बन्धित संस्थालाई सदस्य–सचिव घिसिङले खेल सामाग्री पनि हस्तान्तरण गरेका थिए ।