चेस

चार खेलाडीको अग्रता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्ड हलमा जारी सान्तेषमान सिंह प्रधान स्मृति खुला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन पाँचौं चरणसम्मको खेल सम्पन्न भएकाे छ । जसमा फिडेमास्टर मनिष हमाल, हेटौडाका कृष्ण थापा, ललितपुर स्पोर्टस क्लबका सजिन महर्जन र भोजपुरका सुमन राई समान साढे ४ अंकसहित संयुक्तरुपमा शीर्ष स्थानमा छन् ।

पाँचौ चरणमा मनिष र क्षितिजबीचको खेल बराबरी भयो । कृष्णले तीन पटक नेपाल च्याम्पियन बनिसकेका बद्रिलाल नेपालीलाई हराए । त्यसैगरी सजिनले भक्तपुरका भेट्रान गणेशमान दुवाल र सुमनले युवा निकेन कुसाथालाई निराश पारेका थिए ।

ललितपुर स्पोर्टस क्लबद्धारा आयोजित प्रतियोगितामा फिडेमास्टर क्षितिज भण्डारी, रुपेश जैसवाल, दमक झापाका राजन सुवेदी, ललितपुरका रत्न ब्यन्जनकार, थापाथलि चेस पार्कका सुशील चौधरी, ताप्लेजुङ्गका हरि सुब्बा, कंचनपुरका भीमदत्त पाण्डे र काठमाडाैंका सुरज सिंह समान ४ अंक जोडेर संयुक्तरुपमा दोश्रो स्थानमा रहेका छन् ।

चारदिने प्रतियोगितामा विजेताले ५१ हजार एक सय, उपविजेताले ३० हजार तीन सय, र तेश्रोले २० हजार दुई सय नगद पुरस्कार प्राप्त गर्नेछन् भने कुल नगद पुरस्कार २ लाख ३९ हजार ६ सय रहेको छ ।  

स्वीस लिग अनुसार नाैं चरणको खेल हुने प्रतियोगितामा ४० जिल्लाका एक सय एकजना खेलाडीहरु सहभागी छन् ।